• २७ भदौ २०८३, शनिबार
  • २ः०० राती

मेटा कम्पनीले ट्विटरको प्रतिस्पर्धी नयाँ एप ल्याउँदै

प्रकाशित मिति

२०८० असार २० गते, बुधबार ०१:२५

२० असार २०८०, काठमाडौँ: सामाजिक सञ्जाल फेसबुक सञ्चालन गर्ने मेटा कम्पनीले अर्को सामाजिक सञ्जाल ट्विटरको प्रतिस्पर्धी नयाँ एप आगामी बिहीवारदेखि सञ्चालनमा ल्याउन लागेको छ । थ्रेड्स् भनिने उक्त एपलाई एपल एप स्टोरमा सञ्चालनमा आउनुअघि नै ‘प्रि-अर्डर’ गर्न सकिन्छ भने त्यसलाई इन्स्टाग्रामसँग लिङ्क गरिनेछ ।

National Life

उक्त एपका स्क्रीनसटहरू हेर्दा त्यो ट्विटरजस्तै देखिन्छ। मेटाले थ्रेड्स्‌लाई टेक्ट्स बेस कन्भर्सेसन एप अर्थात् “अक्षरमा आधारित संवाद एप” भनेको छ । फेसबुक सञ्चालक कम्पनीको उक्त निर्णय त्यसका मालिक मार्क जकरबर्ग र ट्विटरका मालिक इलोन मस्कबीचको पछिल्लो प्रतिस्पर्धाका रूपमा हेरिएको छ ।


गत महिना जकरबर्ग र मस्क दुवैले आफूबीच प्रतिस्पर्धा गर्ने सार्वजनिक रूपमै घोषणा गरेका थिए। तर उनीहरूले त्यस्तो प्रतिस्पर्धा कहिलेसम्म जारी राख्छन् भन्ने स्पष्ट छैन । मेटाको थ्रेड्स् एप नि:शुल्क रहेको र त्यसमा जति पनि पोस्ट गर्न पाइने जस्तो देखिएको छ। “थ्रेड्स्‌मा समुदायहरू एक स्थानमा आएर आजका चासोका जुनसुकै विषयदेखि भोलि ट्रेन्डिङमा रहने विषयसम्म छलफल गर्न सक्नेछन्,” एप स्टोरमा रहेको उक्त एपको विवरणमा उल्लेख छ।

Classic Tech Mobile
Classic Tech Desktop

उक्त एपबाट लिइएका तस्बिरहरू हेर्दा त्यो लगभग ट्विटर जस्तै देखिन्छ। मेटा एप भएकाले थ्रेड्सले प्रयोगकर्ताको फोनमा लोकेसन, खरिद र ब्राउजिङ हिस्ट्री लगायतका डेटाहरू पठाउन सक्छ । ट्विटरसँग उल्लेखनीय समानता भएका धेरै एपहरू हालैका वर्षहरूमा आएका छन्। त्यस्ता एपमा डोनल्ड ट्रम्पको ट्रुथ सोशल र मास्टोडनलगायत छन् ।


मस्कले प्रयोगकर्ताले गर्न पाउने पोस्टलाई सीमित पार्ने निर्णय गरेसँगै ट्विटरजस्तै अर्को एप ब्लूस्काईले ‘ट्राफिक’ उच्च देखिएको दाबी गरेको छ। यद्यपि थ्रेड्स् ट्विटरले सामना गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो खतरा हुनसक्छ ।


मार्क जकरबर्गले अन्य कम्पनीका सोचहरूलाई लिएर तिनलाई सफल बनाएका उदाहरणहरू छन्। मेटाको रील्स धेरै हेरिनेमा पर्छ र त्यो टिकटकको नक्कल जस्तो देखिन्छ भने स्न्यापच्याटमा पनि त्यस्तै विशेषता छ । मेटासँग ट्विटरसँग प्रतिस्पर्धा गर्ने स्रोत पनि छ। थ्रेड्स् इन्स्टाग्राम प्लेटफर्मको हिस्सा हुने भएकाले यो लाखौँ प्रयोगकर्ताहरूसँग सुरुमै जोडिन पुग्नेछ। त्यस्तै अन्य प्रतिस्पर्धीको जस्तो यो शून्यबाट सुरु भएको पनि हुनेछैन।

प्रतिकृया