• 9:48 am

ट्राफिक सचेतता कक्षा आजबाट भक्तपुर र ललितपुरमा पनि सुरू

प्रकाशित मिति

२०८० असार ३ गते, आईतवार ०५:०८

३ असार २०८०, काठमाडौँ : काठमाडौँ उपत्यकाका थप दुई जिल्लामा पनि आजबाट ट्राफिक सचेतता कक्षा सुरू गरिएको छ । भक्तपुरको चुनदेवी स्थित ट्राफिक प्रहरी परिसरमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले र प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले ललितपुरको सातदोबाटो स्थित ट्राफिक प्रहरी परिसरमा आज एक कार्यक्रम बीच सचेतता कक्षाको समुद्घाटन गर्नु भएको हो ।


काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा मात्र हुँदै आएको सचेतता कक्षा सेवाग्राहीको सुविधालाई मध्यनजर गरी आइतबारबाट ललितपुर र भक्तपुर जिल्लामा पनि सुरु गरिएको प्रवक्ता भट्टले जानकारी दिनुभयो ।


तीव्र गतिमा सवारी चलाउँदा र रातो बत्ती तथा सडक लेन उल्लङ्घन गरेको कसुरमा ललितपुर र भक्तपुर जिल्लामा कारबाहीमा परेका चालकले सम्बन्धित जिल्लामै सचेतता कक्षा लिनु पर्ने छ । काठमाडौँ, ललितपुर र भक्तपुरमा मदिरा सेवन गरि सवारी साधन चलाउँदा कारबाहीमा परेका चालकले भने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमै आएर सचेतता कक्षा लिनु पर्ने छ ।

प्रतिकृया