• १० असोज २०८३, शनिबार
  • १२ः०९ राती

फ्रेन्च ओपनको उपाधि जोकोभिचलाई

प्रकाशित मिति

२०८० जेष्ठ २९ गते, सोमबार ०२:४८

२९ जेठ २०८०, काठमाडौँ: नोभाक जोकोभिचले आइतवार नर्वेका क्यास्पर रुडलाई ३–० को सेटमा हराउँदै फ्रेन्च ओपनको उपाधि जितेका छन् । यससँगै जोकोभिचले कीर्तिमानी २३औँ ग्राण्डस्लामको उपाधि जितेका छन् । पुरुष एकलमा सबैभन्दा धेरै ग्राण्डस्लामको उपाध जित्ने कीर्तिमान आफ्नो नाममा लेखाएपछि जोकोभिचले यसलाई विशेष उपलब्धि भएको बताए ।

National Life

सर्वियाका ३६ वर्षे जोकोभिचले नर्वेका २४ वर्षे कास्पर रुडलाई पहिलो सेट ७–६(७/१) स्कोरमा जितेका थिए । दोस्रो ६–३ को स्कोरमा विजय हासिल गरेका जोकोभिचले तेस्रो सेट ७–५ को स्कोरमा नतिजा निकालेका थिए । जोकोभिचले सेमिफाइनलमा विश्व नम्बर एक कार्लोस अल्कारेजलाई ३–१ को सेटमा हराउँदै फाइनलमा स्थान बनाएका थिए ।


जोकोभिचले स्पेनका राफेल नाडाललाई पछि पार्दै २३औँ ग्राण्डस्लाम उपाधि जितेका हुन् । यसअघि नाडाल र जोकोभिचको नाममा समान २२ ग्राण्डस्लाम उपाधि थियो । चोटका कारण नाडालले यस वर्ष प्रतियोगिता खेलेका छैनन् । नाडालले अर्को सिजन टेनिस करिअरबाट सन्यास लिने सम्भावना छ ।

Classic Tech Mobile
Classic Tech Desktop

जोकोभिचले २३ ग्रान्डस्लाम मध्ये जोकोभिचले तीन पटकमात्र फ्रेन्च ओपनको उपाधि जितेका छन् । फ्रान्समा नाडालले सबैभन्दा धेरै उपाधि जितेका छन् । नाडालले आफ्नो २२ ग्राण्डस्लाममध्ये फ्रेन्च ओपनमा मात्र १४ पटक उपाधि उचालेका छन् । जोकोभिचले १० अष्ट्रेलियन ओपन, तीन यूएस ओपन र सात विम्बल्डन ओपनको उपाधि जितेका छन् ।


सातौँ पटक फ्रेन्च ओपनको फाइनल खेलेका जोकोभिकले फिलिप–कार्टर कोर्टमा हर्षोल्लास मनाइरहेका समर्थकहरूमाफ भने, “मैले पेरिसमा २३ औँ ग्रान्डस्लाम उपाधि जित्नु संयोग होइन । किनभने मेरो सम्पूर्ण करिअरमा यो प्रतियोगिता जित्न सबैभन्दा कठिन थियो ।”


ट्रफी उचालेपछि जोकोभिचले थपे, ‘‘यहाँ यस कोर्टमा मेरा धेरै भावनाहरू जोडिएका छन् र कोर्ट बाहिर पनि । आज विशेष वातावरण बनाइदिनु भएकोमा फेरि एकपटक धन्यवाद । यो मेरो लागि एक अद्भूत क्षण हो । यो विशेष स्टेडियममा मेरो करिअरको यस विशेष पल तपाईंसँग साट्न पाउँदा धेरै खुसी छु ।” लगातार २१ ग्राण्डस्लाम खेल जित्न सफल जोकोभिच अब फ्रेन्च ओपन उापधि जित्ने सबैभन्दा पाका खेलाडी बनेका छन् । जोकोभिचले गत वर्षको विम्बल्डनको उपाधि जितेका थिए भने यूएस ओपन गुमाएका थिए । त्यसपछि उनले गत जनवरीमा सम्पन्न अष्ट्रेलियन ओपनको उपाधि जितेका थिए ।


“जीवनमा २३औँ ग्रान्डस्लाम जित्न पाउने म भाग्यमानी छु । यो अविश्वसनीय अनुभूति हो,“ जोकोभिचले भने, “मैले सात वर्षको उमेरमा विम्बल्डन जित्ने र एक दिन नम्बर १ बन्ने सपना देखेको थिएँ । मसँग मेरो भाग्य आफैँ बनाउन सक्ने शक्ति छ भन्ने मैले महसुस गरेको छु । यो मेरो शरीरको हरेक नसानसामा महसुस गरें ।’’


जोकोभिचले अब विम्बल्डन र यूएस ओपन जितेर अझै धेरै ग्राण्डस्लामको उपाधि जित्ने कीर्तिमान बनाउन सक्नेछन् ।

प्रतिकृया