• 4:56 pm

कान्तिपुरको नयाँ प्रधान सम्पादकमा उमेश चौहान

प्रकाशित मिति

२०८० जेष्ठ ७ गते, आईतवार ०५:१२

७ जेठ २०८०, काठमाडौँ: कान्तिपुर दैनिकको प्रधान सम्पादकमा उमेश चौहान नियुक्त भएका छन् । दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा संलग्न चौहान दुई वर्षदेखि कान्तिपुरको सम्पादकको रुपमा कार्यरत थिए । प्रधान सम्पादक सुधीर शर्माले दिएको राजीनामा स्वीकृत गर्दै कान्तिपुर व्यवस्थापनले चौहानलाई आइतबार नयाँ प्रधान सम्पादकको जिम्मेवारी दिएको हो ।


कान्तिपुर मिडिया ग्रुप ९केएमजी० का अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले प्रधान सम्पादक शर्माले कान्तिपुरलाई व्यावसायिक पत्रकारिताको उचाईमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । उनले यस्तै व्यावसायिक सफलताको थप उचाईमा कान्तिपुरलाई पुर्‍याउन नयाँ प्रधान सम्पादक चौहानलाई शुभकामना दिए ।


अध्यक्ष सिरोहियाले रगतको नाताभन्दा एउटै कार्यस्थलमा जोडिएको नाता झन् बढी गहिरो हुने उल्लेख गर्दै शर्मालाई बिदाई गर्नुपर्दा आफूलाई धेरै अप्ठेरो भइरहेको बताए । उनले अहिले संस्थागत आबद्धता छोडे पनि पत्रकारिताका अभ्यासमा बाहिर बसेर पनि कान्तिपुरलाई सल्लाह, सुझावहरू दिन शर्मासँग आग्रह गरे ।


नवनियुक्त प्रधान सम्पादक चौहानले शर्माले देखाएको पत्रकारिताको व्यावसायिक सिपबाट समेत आफूले सिकेर आगामी दिनमा समाचार कक्षलाई नेतृत्व गर्ने प्रतिबद्धता जनाए । उनले अझै पनि छापा पत्रकारिता उत्तिकै शक्तिशाली रहेको उल्लेख गर्दै यसलाई नयाँ प्रविधिसँग जोडेर लैजान आफूले काम गर्ने पनि बताए ।


अर्घाखाँचीका प्रधान सम्पादक चौहानले पूर्वाञ्चल विश्वविद्यालयबाट आमसञ्चार र पत्रकारिता विषयमा स्नातकोत्तर गरेका छन् । उनीसँग रेडियो र टीभीको पनि कार्यानुभव छ ।

प्रतिकृया