• 5:15 pm

‘मोका’ चक्रवातको प्रभावले नेपालमा बदली, प्रत्यक्ष असर नपर्ने

प्रकाशित मिति

२०८० बैशाख २९ गते, शुक्रबार ११:४४

२९ वैशाख २०८०, काठमाडौँ: भारतीय मौसम विभागले केही दिन अगाडि ‘मोका’ चक्रवातको चेतावनी जारी गरेको थियो । बंगालको खाडी माथि बनेको चक्रवात शक्तिशाली आँधीमा परिवर्तन हुन सक्ने विभागको चेतावनी थियो । यसमा हावाको गति प्रतिघण्टा १३० किलोमिटरसम्म पुग्न सक्ने बताइएको थियो ।


दक्षिण पूर्वी बंगालको खाडी र नजिकैको दक्षिण अण्डमान सागरमा न्यून चापीय क्षेत्र बनेको थियो । मोका चक्रवात बंगलादेश र म्यानमारको तटतर्फ अगाडि बढ्ने बताइएको थियो । पश्चिम बंगाल, उडिसा र आन्द्र प्रदेशमा सचेत रहन विभागले अलर्ट जारी गरेको थियो ।


मोका चक्रवातको प्रभाव यो आँधी तटीय क्षेत्रबाट बंगलादेशतर्फ कति टाढा पुग्छ त्यसमा निर्भर गर्ने मौसमविद्हरूले बताएका थिए । विभागले समुद्री जहाज र माछा मार्नेहरूलाई मंगलबारदेखि बाहिर ननिस्कन आग्रह गरेको थियो । यससँगै मे ८ देखि १२ सम्म अण्डमान र निकोबार टापुहरू नजिकैको पर्यटन र ढुवानीलाई सीमित गर्न निगरानी गर्न पनि विभागले सम्बन्धित पक्षलाई भनेको थियो ।


‘मोका’को असर नेपालमा देखिने भयो ?
यसको प्रत्यक्ष असर भने नेपालमा नदेखिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तर, अप्रत्यक्ष असर भने देखिएको मौसमविद् गोविन्दकुमार झा बताउँछन् । मोकाकै कारण आज मौसममा बदली र बादल देखिएको उनको भनाइ छ ।


“मोकाको प्रत्यक्ष असर भने अब करिब–करिब नदेखिने भएको छ । तर, आज नेपालमा मौसममा देखिने बदली भने मोकाकै असर हो । यसको असरले केही प्रदेशमा बदली भए पनि यसले वर्षा भने गराउने छैन,” मौसमविद् झाले भने, “अहिले यो चक्रवात बंगालको खाडीमाथि छ । यो सुरुमा उत्तरपश्चिमतर्फ सरिरहेको थियो । अहिले उत्तरपूर्वतर्फ सरिरहेको छ । बंगलादेश म्यानमारतर्फ सरिरहेकाले यसको प्रत्यक्ष प्रभाव नेपालमा देखिने छैन ।”

प्रतिकृया