• १७:३८ २०८० चैत्र १५ गते
  • 5:38 pm

रमण कन्ट्रक्सनले सम्झौताअनुसार खानेपानीको काम नगरेको उपभोक्ताहरुको आरोप

प्रकाशित मिति

२०८० बैशाख १९ गते, मंगलवार ०४:३१

Suman Shrestha e1683024373159

वैशाख १९, २०८०, काठमाडौँ: रमण कन्ट्रक्सन प्रा.ली.ले इलाम खानेपानी आयोजनाको काम सम्झौताबमोजिम नगरेको उपभोक्तहरुले आरोप लगाएका छन् । उपभोक्ताहरुले आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी अनियमिताबारे जानकारी गराएका हुन् । रमण कन्स्ट्रक्सनले सम्झौता बमोजिमका काम नगरेको भन्दै उनीहरुले छानविनका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगमासमेत उजुरी दिइसकेका छन् ।


अहिले खानेपानी नयाँ पाइपबाट वितरण भएपनि उक्त पानी सम्झौता भएअनुसारको स्थानबाट नल्याइएको उपभोक्ता सुमन श्रेष्ठले बताए । ‘हाल खानेपानी नयाँ पाईपबाट दिइरहेको भएपनि सो पानी साविककै गिताङ र भाडी खोलाको हो । सम्झौतामा उल्लेख भएको मेवा खोला र राते खोलाको प्रति सेकेण्ड २० लिटरको पानी नयाँ पाइपमा हालिएको छैन,’–श्रेष्ठले भने ।


उक्त खानेपानी आयोजना एडीबीको सहयोगमा नेपाल सरकारको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लगानी छ । कोरोना महामारीका कारण समयमा काम सम्पन्न नगरेको रमण कन्स्ट्रक्सनले थप गरिएको समयमा पनि काम सम्पन्न नगरेको र भएका कामहरु पनि सम्झौताबमोजिम नभएको आरोप छ ।


‘सम्झौताविपरित गुणस्तरहीन कार्य गरेको आयोजनाका संरचनाहरु सम्झौताबमोजिम नगरिएको, मापदण्डविपरित पाइप फिटिङ्ग गरिएको, मिटर बक्स कमसल तथा गुणस्तरहीन जडान गरेको कारणबाट सो खानेपानीका उपभोक्तालाई दुरागामी असर परेको छ,’–श्रेष्ठले भने ।



साथै, उपभोक्ता समितिहरुले स्थलगत निरीक्षण गरी सम्झौतामा उल्लेख भएबमोजिमको काम गर्न निर्देशन दिनपनि अख्तियारलाई अनुरोध गरेका छन् । उपभोक्ता श्रेष्ठले उचित छानविनमा सहयोग गरिदिन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेसमक्ष आग्रहसमेत गरेका छन् । ‘रवि सर हामी आम इलामबासीहरुलाई सहयोग गरिदिनुहुन म यहीबाट अपिल गर्न चाहन्छु,’– उनले भने ।

प्रतिकृया