• १५:४२ २०८० चैत्र ६ गते
  • 3:42 pm

नेपालले भारत र रणजी ट्रफीमा खेल्न पाउनुपर्छ : प्रशिक्षक देसाई

प्रकाशित मिति

२०७९ चैत्र ७ गते, मंगलवार ०१:२२

monty

७ चैत्र २०७९, काठमाडौँ: नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले नेपाली टिमले भारत र रणजी ट्रफीमा खेल्न पाउनुपर्ने बताएका छन् । देसाईले आयरल्यान्ड र स्कटल्यान्डका क्रिकेटरले इंग्ल्यान्डमा खेल्ने गरेको उदारहण प्रस्तुत गर्दै नेपालले पनि भारत र रणजी ट्रफीमा खेल्न पाउनुपर्ने बताएका हुन् ।


गएको माघ २३ गते देसाई औपचारिक रूपमा नेपाली टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । क्रिकबजसँग उनले नेपाली क्रिकेटको विकासका लागि आईसीसी र एसीसीका अध्यक्ष तथा भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)का सचिव जय साहसँग छलफल गरिरहेको बताएका छन् ।


“मैले आईसीसी र जय भाइ (जय साह बीसीसीआईका सचिव र एसीसीका अध्यक्ष)सँग यसबारे कुरा गरेँ । स्कटल्यान्ड र आयरल्यान्डका खेलाडीले इंग्ल्यान्डमा खेल्छन् भने हामीले पनि भारत र रणजी ट्रफीमा खेल्न पाउनुपर्छ । यदि, नेपालले यसरी खेल्न पायो भने हामी चार वर्षमा टेस्ट राष्ट्र बन्नेछौँ,” देसाईले भने, “नेपालका सबै छिमेकी मुलुकहरू आईसीसीका पूर्ण सदस्य छन् । जसमा अफगानिस्तान पनि सामेल छ । अझ अफगानिस्तान र नेपालले एकै समयमा क्रिकेट खेल्न सुरु गरेका हुन् ।”


देसाईको प्रशिक्षणमा खेलेका १२ मध्ये ११ खेलमा नेपाली विजयी भएको छ । देसाईको प्रशिक्षणमा नेपाली टिम घरेलु मैदानमा पछिल्ला आठ खेलयता अपराजित छ । उत्कृष्ट लयसहित नेपाली टिम आईसीसी क्रिकेट विश्वकप लिग–२ को शीर्ष तीन स्थानमा रह्यो । जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप छनोटमा समेत स्थान पक्का गर्‍यो ।

प्रतिकृया