• १२:०५ २०८० फाल्गुन १३ गते
  • 12:05 pm

विश्वकप क्रिकेट लिग–२ : युएईमाथि नेपालकाे सानदार जित

प्रकाशित मिति

२०७९ फाल्गुन २८ गते, आईतवार ०३:५२

cricket e1678088975456

२८ फागुन, २०७९, काठमाडौँ : विश्वकप क्रिकेट लिग–२ मा नेपालले घरेलु सिरिजको दोस्रो खेलमा प्रभावशाली जित हासिल गरेको छ। नेपालले युएईलाई ७१ रनमा नै समेट्दै १७७ रनको फराकिलो जित निकाल्यो। यससँगै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पनि जोगाएको छ।


नेपालले युएईविरुद्ध पहिले ब्याटिङ गर्दै २ सय ४९ रनको लक्ष्य दिएको थियो। जवाफमा युएई ७१ रनमा समेटियो। नेपालको जितमा ललित राजवंशीले ५ विकेट लिँदा सन्दीप लामिछानेले २ विकेट हात पारे। त्यस्तै, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र गुल्सन झाले समान १–१ विकेट लिए।


युएईका लागि अयन खानले २९ रन बनाउँदा अश्वस्थ भलथापाले १५ रन बनाए। त्यस्तै कार्थीक मियापानको ११ रन थप दोहोरो स्कोरका रुपमा रह्यो।


त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले रोहित पौडेलको ७७ रनको मद्दतमा २ सय ४९ रनको लक्ष्य प्रस्तुत गरेको थियो। टियु मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २२ रन बनाउँदा महत्वपूर्ण ३ विकेट गुमाएको थियो। तर कप्तान रोहित पौडेलको संयमित ७७ रनको इनिङ र मध्यक्रमले समालिएर दोहोरो स्कोरमा रन बनाएपछि नेपालले प्रतिस्पर्धात्मक लक्ष्य बनाउन सफल भयो।


नेपालका लागि कप्तान पौडेलले भिम सार्कीसँग चौथो विकेटका लागि ५४ रनको साझेदारी गरेका थिए। सार्की २९ रनमा आउट भएका थिए। त्यस्तै, पौडेलले आरिफ शेखसँग पाँचौं विकेटका लागि ८६ रनको साझेदारी गरे। रोहित ११२ बलमा ९ चौका प्रहार गर्दै ७७ रनमा आउट भएका थिए। उनले करिअरको ८ औँ अर्धशतक प्रहार गर्न सफल भए। उनी सर्वाधिक अर्धशतक प्रहार गर्ने नेपाली ब्याटरसमेत बने।


त्यस्तै, नेपालको इनिङमा आरिफ शेखको ४३ रन महत्वपूर्ण रह्यो। उनले ५२ बलमा ४ चौका प्रहार गरे। त्यस्तै, गुल्शन झाले ३२ बलमा ३७ रन बनाउँदा १ चौका र ३ छक्का प्रहार गरेका थिए। आठौँ नम्बरमा ब्याटिङका लागि आएका दीपेन्द्र सिंह ऐरीले १९ बलमा ३४ रनको विष्फोटक इनिङ खेले। त्यसअघि शुरुवाती क्रममा कुशल मल्ल ९ रनमा आउट हुँदा कुशल भुर्तेल ८ रनमा पेविलियन फर्किएका थिए। त्यस्तै, ओपनर आसिफ शेख शुन्य रनमा आउट भएका थिए।

प्रतिकृया