• 2:16 am

फ्रान्समा आजदेखि अनिश्चितकालीन हडताल, जनजीवन प्रभावित हुनसक्ने आकलन

प्रकाशित मिति

२०७९ फाल्गुन २३ गते, मंगलवार १२:३१

२३ फागुन २०७९, एजेन्सी: फ्रान्समा सरकारले परिमार्जन गर्न लागेको निवृत्तिभरण सुधार योजनाहरूविरुद्ध मजदुर र कर्मचारी संघसंगठनहरूले आज मंगलबारदेखि अनिश्चितकालीन हडताल थालेका छन् । मजदुर र कर्मचारी युनियनहरूले सरकारले निवृत्तिभरण विधेयक फिर्ता नलिएसम्म हडताल जारी राख्ने भएका छन्। अनिश्चित कालसम्म हडताल गर्दा फ्रान्सको जनजीवन प्रभावित हुनसक्ने आकलन गरिएको छ ।


यो हडताल छैटौँ पटकको हो । देशका प्रमुख मजदुर युनियनहरू सीजीटी र सीएफडीटीले नै अनिश्चितकालीन हडतालको घोषणा गरेकाले दैनिक जीवनमा व्यापक बाधा पुग्ने र अर्थव्यवस्थालाई गम्भीर रूपमा क्षति पुग्ने सम्भावना रहेको समाचार माध्यमले जनाएको छ ।


अनिश्चित कालसम्म हडताल जारी राख्ने घोषणा गरिएकाले फ्रान्सको जनजीवन प्रभावित हुनसक्ने आकलन गरिएको छ।
अनिश्चितकालीन हडतालमा शिक्षक, ग्यास र विद्युतीय क्षेत्रका कामदारहरू, रेल कम्पनीका कर्मचारी, स्वास्थ्य क्षेत्रका कामदार र औद्योगिक क्षेत्रलगायत कामदारहरू सामेल हुने घोषणा गरिएको छ।


शिक्षा, स्वास्थ्य, यातायात, विद्युत्, उद्योग र कलकारखानालगायत अधिकांश क्षेत्रका कर्मचारी संलग्न हुने भनिएकाले यो हडतालले राष्ट्रिय उथलपुथल मच्चाउने फ्रान्सेली अखबारहरूले लेखेका छन् । फ्रान्समा निवृत्तिभरण अधिकार सुधार गर्ने र सेवा निवृत्तिको उमेर ६२ बाट ६४ वर्षसम्म पुर्‍याउने सरकारको योजनाविरुद्ध औद्योगिक कलकारखानाका मजदुरहरूले जनवरीदेखि नै पटक–पटक हडताल गर्दै आएका छन् ।


केही मिडियाहरूले यो हडतालले सरकारलाई झुक्न बाध्य पार्न सक्ने समेत उल्लेख गरेका छन् । बढ्दो महँगीले दैनिक जीवनयापनको लागत बढिरहेकाले ऊर्जा संकटले फ्रान्सेली अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्न पनि कर्मचारीहरूले हडताल जारी राखेर उत्पादन अझ कम गर्ने बताएका छन् ।


फ्रान्समा आह्वान गरिएको हडतालका कारण विमानहरूको उडानसमेत ३० प्रतिशतले रद्ध हुने फ्रान्सेली नागरिक उड्डयन प्राधिकरण (डीजीएसी) ले सार्वजनिक गरेको छ। फ्रान्सको हडतालका कारण युरोपका अन्य सहरहरूमा जाने लामो दूरीका रेल र उडानसमेत प्रभावित हुने जनाइएको छ । राष्ट्रपति इमानुयल म्याक्रोँले हालको निवृत्तिभरणको आर्थिक बोझ राज्यले धान्न नसक्ने र त्यसको भार युवाहरूले धान्नु परिरहेकाले यसलाई परिमार्जन गर्नुपर्ने तर्क गर्दै आएका छन् ।


राष्ट्रपतिले फ्रान्समा उपचार र अन्य सुविधाले गर्दा नागरिकको आयु बढेको, युरोपमा सबैभन्दा कम उमेरसम्म काम गर्नेमा फ्रान्सेलीहरू रहेको, युरोपमा कम काम गर्ने र बढी लिनेमा फ्रान्सेलीहरू रहेको लगायत तर्क गर्दै निवृत्तिभरणको उमेर बढाउनुपर्ने दाबी गर्दै आएका छन् । शारीरिक रूपमा कठिन काम गर्नेहरू र काम गर्न असक्षम रहेको प्रमाण पाएकाहरूका लागि हालको विधेयकले प्रभाव नपार्ने स्पष्टीकरण दिँदै सरकारले यस पटक जसरी पनि यो विधेयक पारित गर्ने घोषणा गर्दै आएको छ।


सन् १९९८ पछि मजदुर युनियनहरूले गरेको हडतालले केही क्षति पुर्‍याए पनि समग्रमा सफल हुन सकेको थिए। हाल आह्वान गरिएको हडताल पनि केही सातापछि असफल हुने र सरकारले आफ्नो विधेयक पास गर्ने योजनामा रहेको फ्रान्सेली विश्लेषकहरूको दाबी छ ।

प्रतिकृया