राप्रपा मुलुकमा अस्थिरताको कारक तत्व बन्ने छैन : राजेन्द्र लिङदेन
प्रकाशित मिति
२०७९ पुष २५ गते, सोमबार ०२:३४

मातृभूमिन्युज
२५ पुस २०७९, काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले अहिलेको जनादेशले जनताले कुनै एक राजनीतिक पार्टीलाई विश्वास गर्न नसकेको बताएका छन् । संसदलाई सम्बोधन गर्दै उनले भने, “अहिलेको जनादेश सबै मिलेर मात्र समस्याको समधान हुन सक्दछ भन्ने जनादेश छ ।”
उनले अगाडि भने, “अहिले अर्थतन्त्रको अवस्था ओरालो लागेको अवस्था छ । बेरोजगारी कुन ढंगले बढेर गएको छ त्यो सबैलाई थाहा छ । उमेर पुगेपछि राहदानी बनाउने र पेट पाल्नको लागि देश छोड्न पर्ने नियती बनेको छ । कृषकले उन्नत मल पाउन नसकेको अवस्था छ । विकास निर्माण अति नै सुस्त थियो र अहिले ठप्प छ । यी समस्याको चाङ माथि हामी प्रतिनिधिसभामा आएका छौं । हामीले निषेध गरेर म मात्र अगाडि बढ्छौ भन्ने अवस्था छैन । हामी सबैका विचार भन्दा माथि देश छ, देशलाई शिरमा राखेर मुलुकका यावत समस्याहरुलाई सामूहिक रुपमा समाधान गर्ने दिशातर्फ हामी अग्रसर हुन सकौं । राष्ट्रिय प्रजातन्त्र पार्टी यो संसदमा यही जनादेश बमोजिम राष्ट्रियता, राष्ट्रिय एकता, सुशासन र सेवा प्रवाहको मुद्दामा दृढताको साथ उभिनेछ । राप्रपा मुलुकमा अस्थिरताको कारक तत्व बन्ने छैन ।”
प्रतिकृया