जर्मनी र कोस्टारिका बीचको खेलमा महिला रेफ्री फ्रापार्टको आकर्षण
प्रकाशित मिति
२०७९ मंसिर १५ गते, बिहीबार ०२:३३
१५ मंसिर २०७९, काठमाडौँ : बिहीबार मध्यराति सुरु हुने अस्ट्रेलिया र कोस्टारिकाबीचको खेलमा महिला रेफ्रीले पहिलो पटक पुरुष फुटबल विश्वकप खेलाउँदै छिन्। यो खेल जर्मनीका लागि नकआउट पुग्न जति महत्वपूर्ण, विश्व फुटबलका लागि समेत एक कोसेढुङ्गाका रुपमा हेरिएको छ। फ्रान्सकी स्टेफनी फ्रापार्टले मुख्य रेफ्रीको भूमिका निभाउँदा सहायक दुई रेफ्री पनि महिला नै रहने छन्। सहायक रेफ्रीमा ब्राजिली नेउजा ब्याक र मेक्सिकोकी कारेन डियाज रहने छन्।
३८ वर्षीय फ्रापार्ट २०१९ को फ्रेन्च लिग वानमा रेफ्री बनेकी थिइन्। २०१९ को महिला विश्वकपमा फ्रापार्टले महिला विश्वकप फुटबलको फाइनल खेलाएकी थिइन्। फ्रापार्ट २०१९ को युइएफए सुपर कपको खेलका लागि रेफ्री प्यानलमा समेत रहेकी थिइन्। साथै उनी २०२० को च्याम्पियन्स लिगको अस्सिटेन्ट रेफ्रीको भूमिकासमेत निभाउन सफल भएकी थिइन्।

फिफा विश्वकपका लागि रेफ्रीको भूमिकामा छनोट भएपछि फ्रापार्टले जेन्डर भन्दा योग्यता महत्वपुर्ण भएको बताएकी थिइन्। उनले आफूलाई विश्वकप खेलाउने रेफ्रिको रुपमा चुन्दा धेरै खुसी लागेको बताइन्। उनले फिफाले महिला रेफ्रिलाई बोलाएर विश्वभर एउटा ठूलो सन्देश दिएको बताइन्।

फिफाले विश्वकपको लागि ३६ रेफ्रीको सूची सार्वजानिक गर्दा तीन महिला रेफ्री सामेल छन्। तीन महिला सहायक रेफ्री पनि रहेका छन्। ब्राजिलकी नुजा ब्याक, मेक्सिकोकी करेन डियाज मेडिना र अमेरिकाकी क्याथरन नेस्बिट सहायक महिला रेफ्रीका रुपमा रहँदा अन्य फिफा रेफ्रीमा जापानकी ३६ वर्षीया यामाशिता र ३४ वर्षीया रुवान्डाकी सालिमा मुकानसन्गा पनि विश्वकप खेलाउने रेफ्रीको लिस्टमा रहेका छन्।




प्रतिकृया