• 6:14 am

‘स्वच्छ छवि, जनप्रेमी र भ्रस्टाचार मुक्त उमेदवार चयन गर्नुस, राम्रो परिणाम पाउन राम्रो उम्मेदवारलाई मतदान गर्नुहोस’: भीमसेन दास प्रधान

प्रकाशित मिति

२०७९ कार्तिक २४ गते, बिहीबार १२:१६

सुमित्रा अधिकारी

२४ कार्तिक २०७९, काठमाडौँ: प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ६ का नेपाली कांग्रेसका नेता एवं पूर्व रक्षामन्त्री भीमसेनदास प्रधान तेस्रो पटक प्रतिनिधि सभामा उम्मेदवार बनेका छन् । लामो समय देखि यस क्षेत्रमा कांग्रेसमा रहेर राजनीति गरेका प्रधान अहिले चुनावी प्रचार प्रसारको अभियानमा लागिरहेका छन् । यस क्षेत्रमा उनको प्रतिष्पर्धी हालै एमालेमा प्रवेश गरेका पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल रहेका छन् । दुवै उम्मेदवारको प्रतिष्पर्धालाई अर्थपूर्ण रुपमा लिइएको छ ।


दुईपटक सांसदमा निर्वाचित भई आफ्नो कार्यकालमा गरेको कामको मूल्याङ्कन गर्दै पुन पार्टीले आफूलाई टिकट दिएको उनी बताउँछन् । मातृमूमिसँगको कुराकानीमा प्रधानले भने “आफ्नो क्षेत्रमा स्वच्छ छविका साथ चिनीएको छु, जनमानसको सुख दुःखमा सदैव सहभागी हुने गरेको छु र अबका दिनमा पनि यसरी नै अघि बढ्नेछु ।” घर दैलोका कार्यक्रममा त्यहाँका जनताले उनलाई यस क्षेत्रका लागि राम्रो काम गर्नुभएको छ भनेर प्रतिक्रिया दिएको उनी बताउँछन् । उनी भन्छन्, “जनताले मैले गरेको कामको मूल्याकंन गरेर विजयी गराउनुहुन्छ भन्ने कुरामा म विश्वस्त छु ।”


झोर, धर्मस्थली, काभ्रेस्थली, साङ्ला, टोखा लगायतका क्षेत्रमा सडक निर्माण, खानेपानी लगायतका काम गरेको र संसद विकास कोषको पैसा आउने बेला वडाको माग अनुसार विकासको काम अघि बढाएर जनताको मन जित्न सफल भएको प्रधानको भनाइ छ ।


उनको अबको मुख्य एजेन्डा भनेको संविधानको रक्षा, गठबन्धनलाई सहि तरीकाले अगाडि बढाउने तथा विकासका कामलाई अझै तिव्र बनाउने रहेको छ । साथै महानगरपालिकामा भोलिका दिनमा मेलम्ची आए पनि क्षेत्र न. ६ मा भने अझै पानीको अभाव हुँदा त्यहाँ भएका मुहानको उच्च व्यवस्थापन गर्ने र सबै नगरवासीलाई पानीको व्यवस्था गर्ने उनको भनाइ छ ।


काठमाडौँको बागबजारबाट नुवाकोटसम्म छोएको उक्त क्षेत्रमा ३२ मतदान केन्द्र र ७५ मतदानस्थल रहेको छन् । काठमाडौंको बागबजार, पुरानो बसपार्क, कमलादी, असन, ठमेल, लैनचौर, गल्कोपाखा, सामाखुशी, नयाँ बसपार्क, गोँगबु, बानियाँटार, टोखा काभ्रेस्थली, धर्मस्थली, मनमैजु, साङ्ला, झोरलगायतमा ६२ हजार एक सय दुई मतदाता रहेका छन्। यस क्षेत्रमा काठमाडौँ महानगरपालिकाको वडा नं २६, २७ र २८, टोखा नगरपालिकाको वडा नं १, ८, ९, १० र ११ साथै तारकेश्वर नगरपालिकाको वडा नं १, २, ६, ७, ८, ९, १० र ११ वडा पर्छन् ।


खेलकुद, प्राध्यापन पेसा सँगै नेपाली कांग्रेसमा राजनीति गरेका प्रधान २०४८ सालदेखि काठमाडौँ क्षेत्र नं ६ मा भिजेका पुराना नेता हुन् । २०४८ सालमा वामपन्थी नेता पद्मरत्न तुलाधर र कांग्रेस नेतृ मंगलादेवी सिंह चुनाव लडेका बेला कांग्रेसको चुनाव प्रचार संयोजक रहेका प्रधान त्यसयता निरन्तर सो क्षेत्रमा क्रियाशील छन् । यसअघि २ पटक संसदीय निर्वाचनमा विजयी भएका उनले २०७० सालको चुनावमा एमालेका योगेश भट्टराई र २०७४ सालको चुनावमा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदीलाई पराजित गरेका थिए । २०६४ सालको संविधानसभा निर्वाचनमा भने उनी माओवादीका हितमान शाक्यसँग ३ सय भोटले पराजित भएका थिए । विभिन्न आन्दोलनमा सक्रिय सहभागिता जनाएका उनले पछिल्लो समय ओली नेतृत्वको सरकारले ल्याएको गुठी विधेयकको विरुद्धमा संसदमा पहिलो पटक आवाज उठाउने काम गरेका थिए । यस्तै खुला मञ्च खाली गर्न र अवैध ढंगले बनाएका सटर हटाउन, कंक्रिटको रानीपोखरी बनाउने काम रोकेर पुरातात्विक ढंगले मल्लकालीन रानीपोखरी बनाउनका लागि पनि प्रधानको महत्वपूर्ण भूमिका थियो ।

प्रतिकृया