गोरखाबाट चुनावी अभियान सुरू गर्दै राप्रपा
प्रकाशित मिति
२०७९ कार्तिक १८ गते, शुक्रबार ०८:५४
१८ कात्तिक २०७९, काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शनिबारदेखि चुनावी अभियान सुरू गर्ने भएको छ। चुनावी अभियान गोरखाको पालुङटारबाट सुरू गरिने राप्रपाले जनाएको छ। सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार भएको क्षेत्र गोरखा २ बाट राप्रपाले चुनावी अभियान गर्न लागेको हो।
गोरखा २ मा राप्रपाबाट सुशील पन्त प्रतिनिधि सभातर्फ उम्मेदवार छन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन शनिबार पालुङटारमा हुने चुनावी सभालाई सम्बोधन गर्न जाने कार्यक्रम तय भएको छ। शनिबार नै लिङ्देन नवलपुर र नवलपरासी पुगेर त्यहाँ चार वटा सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। अध्यक्ष लिङ्देन देशका विभिन्न क्षेत्रमा पुगेर चुनावी सभाहरूलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए।
राप्रपाले कात्तिक २५ गते काठमाडौंमा आमसभा गर्ने पनि बताएको छ। सोही दिन कास्की र स्याङ्जामा पनि आमसभा हुनेछ।कास्की र स्याङ्जाका आमसभा सकेर काठमाडौंमा हुने आमसभालाई सम्बोधन गर्न लिङ्देन आउनेछन्। काठमाडौं उपत्यकाभित्रका राप्रपाका उम्मेदवारहरूलाई सहभागी गराएर आमसभा गरिने श्रेष्ठ बताउँछन्। लिङ्देन सिन्धुपाल्चोक, मकवानपुर, सिरहालगायत जिल्लामा हुने सभामा पनि पुग्नेछन्। लिङ्देन झापा ३ बाट नेकपा एमालेको समर्थनमा प्रतिनिधि सभातर्फ राप्रपाबाट उम्मेदवार छन्। २०७४ को चुनाव पनि लिङ्देनले यही क्षेत्रबाट जितेका थिए।







प्रतिकृया