• १९:४९ २०८० चैत्र ६ गते
  • 7:49 pm

प्रचण्ड चितवन– ३, माधव नेपाल रौतहट– १ बाट चुनाव लड्ने

प्रकाशित मिति

२०७९ श्रावण ३१ गते, मंगलवार ०२:२९

prachanda madhav nepal media1608531613

३१ साउन २०७९, काठमाडौं:  संघ र प्रदेशको निर्वाचन नजिकिँदै गर्दा ठूला नेताले निर्वाचन क्षेत्रमा चुनावकेन्द्रित गतिविधि बढाउन थालेका छन् । माओवादी अध्यक्ष प्रचण्ड पछिल्लो केही वर्षदेखि निरन्तर चितवन पुगिरहेका छन् । विगतमा नेकपा अध्यक्ष हुँदा तथा पुनः माओवादी अध्यक्ष हुँदा पनि प्रचण्ड चितवन पुगिरहेका थिए । हाल चितवन निर्वाचन क्षेत्र नम्बर– ३ बाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित सांसद रहेका प्रचण्ड पुनः प्रत्यक्ष लड्ने तयारीमै रहेकाले जिल्लाका कार्यक्रममा बढी पुग्ने गरेका हुन् । उनीनिकट नेताहरूले दिएको जानकारीअनुसार उनी आगामी निर्वाचनमा पनि चितवन– ३ बाटै उम्मेदवार बन्ने तयारीमा छन् ।


‘उहाँलाई विभिन्न जिल्ला कमिटीहरूले आफ्नो जिल्लाबाट उम्मेदवार बन्न प्रस्ताव गरिरहेका छन्,’ उनीनिकट ती नेताले भने, ‘तर, प्रचण्ड यसपटक पनि चितवन– ३ मै उम्मेदवार बन्ने तयारी गरिरहनुभएको छ ।’ केही दिनअघि जापान भ्रमणमा गएका वेला पनि प्रचण्डले आफू चितवन– ३ बाटै निर्वाचन लड्ने बताएका थिए । गत निर्वाचनमा उनले निकटतम प्रतिस्पर्धी राप्रपाका विक्रम पाण्डेलाई नौ हजार मतान्तरले पराजित गरेका थिए ।


यता, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने यसपटक आफ्नो पुरानो निर्वाचन क्षेत्र रौतहट फर्कने मनस्थितिमा देखिएका छन् । उनीनिकट नेताहरूका अनुसार काठमाडौं– २ भन्दा रौतहट– १ सुरक्षित रहेकाले यसपटक पुरानै निर्वाचन क्षेत्रमा फर्कने उनको तयारी छ । ‘हालैको स्थानीय तह निर्वाचनको परिणामले पनि रौतहटमा हाम्रो पार्टीको अवस्था राम्रो रहेको स्पष्ट भएको छ । त्यसैले अध्यक्ष कमरेड रौतहट– १ बाटै उम्मेदवार बन्ने तयारीमा हुनुहुन्छ,’ ती नेताले भने ।

प्रतिकृया