नागरिकता विधेयकमा अब कुनै असहमति छैन: कानुनमन्त्री
प्रकाशित मिति
२०७९ असार २९ गते, बुधबार ०५:५१
२९ असार २०७९ काठमाडौंः कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले नागरिकता सम्बन्धी विधेयकमा राजनीतिक दलहरु बीचमा सहमति भएका कुरा मात्र राखिएको बताएका छन्।बुधबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री शर्माले नागरिकता सम्बन्धी विधेयकलाई सर्वसम्मत बनाउने उद्देश्यले विवाद नभएका विषयहरु मात्रै समेटेर ल्याइएको बताए।

उनले विधेयकमा बुबा, आमा दुवै नेपाली नागरिक भएका सन्तानले नागरिकता पाउने, नेपालमा जन्मिएका नेपाली नागरिक र गैर नेपाली नागरिकका सन्तान नेपालमै बसोवास गरेका छन् भने नागरिकता प्रदान गरिने विषय समेटिएको बताए। मन्त्री शर्माले गैरआवासीय नेपालीहरुलाई पनि राजनीतिक अधिकार बाहेकको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार दिनेगरी विधेयक ल्याइएको स्पष्ट पारे।
उनले भने, ‘एकमत बनाउने उद्देश्यका साथ जुन–जुन कुरामा विवाद छैन। जुन–जुन कुरामा दलहरु सहमत हुनुहुन्छ, त्यो कुरामात्र राखेर लिएर आएका छौँ। त्यसैले यो विधेयकलाई बेठिक भन्ने त कुरा छैन। यति पुगेन भन्न चाहिँ मिल्ला। बाबु–आमा दुवै नेपाली नागरिकका सन्तानहरुले यो विधेयक आइसकेपछि यो पास भइसकेपछि उहाँहरुले नागरिकता पाउनुहुन्छ। नेपालमा जन्मिएका नेपाली नागरिकका र गैरनागरिकका सन्तानहरु पनि यदि नेपालमा बसोवास गरेर बसेका छन् भने उनीहरुले पनि यसअन्तर्गत नागरिकता प्राप्त गर्दछन्।’

उनले थपे, ‘हामीले यसमा थपेको कुरा के हो भने गैरआवसीय नेपालीहरु जो विदेशमा बस्नुहुन्थ्यो, नेपाली नागरिकता त्याग्नुभएको थियो। उहाँहरुलाई राजनीतिक अधिकार बाहेक आर्थिक, सामाजिक, साँस्कृतिक अधिकार दिनेगरी यसमा ल्याइएको छ। नेपाली आमा, बाबुका सन्तानले नागरिकता नपाएको पाँच लाखभन्दा बढीको संख्या छ, त्यो समस्या यसले समाधान गर्छ।’



प्रतिकृया