• १४ असोज २०८३, बुधबार
  • ६ः५२ बेलुका

मल पाइने खबरले कृषक खुसी

प्रकाशित मिति

२०७९ असार ४ गते, शनिबार ०७:३६

४ असार २०७९, वालिङ : रासायनिक मल (डिएपी)को अभाव खेपिरहेका यहाँका कृषक मल पाइने खबरले खुसी भएका छन् । स्याङ्जाको वालिङमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको डिपोमार्फत मल वितरण हुने खबर पाएका कृषक खुसी भएका हुन् । मल अभावका कारण लामो समयदेखि तरकारी खेती, धान, मकैको उत्पादनमा कमी हुँदै आएको बेला स्याङ्जाको वालिङमा रहेको साल्ट ट्रेडिङको डिपोमार्फत सोमबारदेखि मल वितरण हुने भएपछि खुसी लागेको वालिङ–८ की कृषक रन्नता बगालेले बताए ।

National Life

‘रोपाइँको बेला हुन लागेको थियो, रासायनिक मल नहुँदा चिन्ता लागेको थियो’, उनले भने, ‘सोमबारबाट मल पाइन्छ भन्ने सुनेको छु, अब रोपाइँ गर्ने बेला भयो ।’ धान रोपाइँ गर्ने तयारीमा रहनुभएका स्याङ्जाका कृषकलाई लक्षित गरी भैरहवामा करिब ९०० बोरा डिएपी आइसकेकोमा आइतबारसम्ममा उक्त मल वालिङ आइपुग्ने कार्यालय प्रमुख नगेन्द्र थापाले जानकारी दिए ।


डिपोले यहाँ आएको मल सूचिकृत भएका डिलरहरुलाई उपलब्ध गराउने छ । वालिङमा रहेको डिपोमा हालसम्म पालिकाको बैठकबाट छनोट भई आएका कृषि सहकारी, बहुउद्देश्यीय सहकारी तथा छनोट भएका आठवटा सङ्घसंस्थालाई डिलरका रुपमा मान्यता दिई सोहीमार्फत कृषकलाई मल उपलब्ध गराइने उनले बताए।

Classic Tech Mobile
Classic Tech Desktop

कृषक तथा डिलरबाट आएको मागको आधारमा र यसअघि खरिद बिक्री भएको अनुपातलगायतका आधारमा मल वितरण गरिने कार्यालयले जनाएको छ । ‘धानका लागि करिब करिब पुग्ने गरी मल आएको छ’, उनले भने, ‘केही मात्रामा नपुगेको खण्डमा केही दिनमै युरियासहितको अन्य मल पनि आउने भएकाले आफूलाई चाहिनेभन्दा बढी भण्डारण नगर्न पनि कृषकलाई आग्रह गर्दछु ।’ स्याङ्जाको वालिङमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको डिपो र पुतलीबजारमा रहेको कृषि सामग्री केन्द्रमार्फत डिलरलाई रासायनिक मल वितरण हुँदै आएको छ ।

प्रतिकृया