• १८ असोज २०८३, आइतबार
  • २ः४१ दिउँसो

पटियाला जेलको कैदी नम्बर २४१३८३ बने सिद्धू

प्रकाशित मिति

२०७९ जेष्ठ ८ गते, आईतवार ०४:५२

एजेन्सी

National Life

८ जेठ २०७९, काठमाण्डौं : राजनीतिज्ञ तथा पूर्व क्रिकेड खेलाडी नवजोतसिंह सिद्धूलाई भारतीय सर्वोच्च अदालतले एक वर्ष जेल सजाय सुनाएपछि अहिले उनी जेलमा छन्। भारतीय सञ्जार माध्यम एनडी टिभीका अनुसार उनी कैदी नम्बर २४१३८३ बनेका छन्। उनलाई पञ्जाबको पटियाला जेलको ब्यारेक नम्बर ७ मा राखिएको छ।


तीन दशक पुरानो सडक दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको थियो। जेल सजाय सुनाएको २४ घण्टापछि उनले शुक्रबार पटियालाको एक अदालतमा आत्मसमर्पण गरेका थिए। उनको मेडिकल जाँच गरेपछि जेलमा लगिएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

के थियो घटना ?

सन् १९८८ डिसेम्बर २७ का दिन पटियालाको एउटा पार्किङमा सिद्धूको ६५ वर्षीय गुरनाम सिंहसँग मारपिट भएको थियो। पछि गुरनाम सिंहको मृत्यु भयो। सिद्धूलाई गैर- नियतवश हत्याको आरोप लागेको थियो। त्यो बेला सिद्धूलाई जिल्ला अदालतले निर्दोष ठहर्याएको थियो। तर उच्च न्यायालयले दोषी ठहर्याउँदै तीन वर्ष सजाय सुनाइदियो।


सरकारको तर्फबाट मुद्दा लडेका वकिलका अनुसार उक्त दिन सिद्धू र उनका साथी रूपिन्दर सिंह संधु पटियालाको शेरनवाला गेटनजिकै गाडीमा जाँदै थिए। त्यहीँ पीडित गुरनाम सिंह र अरू दुई जना कारमा थिए।


सवारी हटाउने विषयमा सिद्धू र उनका साथीको गुरनाम सिंहसँग विवाद भयो। उनीहरूबीच कुटाकुट पनि भयो। यसबीच गुरनाम सिंह लडे। पछि अस्पतालमा उपचार क्रममा उनको मृत्यु भयो।


पुलिस रेकर्डका अनुसार घटनापछि सिद्धू र उनका साथी फरार थिए। पछि मृतकका परिवारको आग्रहमा सिद्धू र उनका साथीविरूद्ध मुद्दा दर्ता भयो।


जिल्ला अदालतपछि यो मुद्दा उच्च न्यायालयमा पुगेको थियो। सन् २००६ मा सिद्धू र उनका साथीलाई तीन(तीन वर्षको सजाय सुनाइयो। दुवैलाई जनही एक-एक लाख जरिमाना पनि तोकियो।


पछि गुरनाम सिंहको मृत्युबारे डाक्टरहरूको राय स्पष्ट नभएको भन्दै यो मुद्दा सर्वोच्चमा पुर्याइएको थियो। सर्वोच्चले सन् २०१८ मा सिद्धूलाई निर्दोष सावित गरेको थियो। तर पीडित परिवारले यसविरूद्ध फेरि अपील दायर गरेको थियो। यसमै अदालतले अहिले आएर सिद्धूलाई दोषी ठहर्याउँदै एक वर्षको सजाय सुनाएको हो।


पहिले सिद्धूविरूद्ध यो मुद्दा चलेका बेला उनी क्रिकेटमा सक्रिय थिए। सन् १९९९ उनले क्रिकेटबाट संन्यास लिए र कमेन्टेटरका रूपमा काम थाले। पछि उनी टेलिभिजन कार्यक्रमहरूमा देखिन थाले। विस्तारै उनी राजनीतिमा सक्रिय भए। उनी अमृतसरका सांसद भए र पन्जाबमा कांग्रेसका अध्यक्ष पनि भइसकेका छन्। अहिले उनी पन्जाब कांग्रेसका वरिष्ठ नेता हुन्।

प्रतिकृया