रुसी आक्रमणका कारण युक्रेनमा ६० अर्बको भौतिक क्षति
प्रकाशित मिति
२०७९ बैशाख ९ गते, शुक्रबार ०१:५८
९ वैशाख २०७९, काठमाण्डौं : युक्रेनमा जारी रुसी आक्रमणका कारण ६० अर्ब डलर जतिको भौतिक क्षति भएको विश्व बैंकले जनाएको छ । विश्व बैंकका अध्यक्ष डेभिड मलपासले एक सम्मेलनका क्रममा यस्तो बताएका हुन् ।
यद्यपि यो अनुमान अत्यन्त ‘साँघुरो’ रहेको र यसमा युद्धका कारण जारी बढ्दो आर्थिक क्षतिको विवरण नरहेको उनले बताए । ‘अवश्य पनि युद्ध अझै चलिरहेको छ र मूल्य पनि बढिरहेको छ ।’ उनलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।
युक्रेनलाई सहयोगबारे आयोजना गरिएको उक्त सम्मेलनका क्रममा भिडियो लिंकमार्फत् बोल्दै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमणका कारण उत्पन्न आर्थिक क्षतिको भर्पाई गर्न मासिक ७ अर्ब डलर लाग्ने बताए ।
उनले विश्व समुदायले रुसलाई विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष लगायतका अन्तर्राष्ट्रिय वित्तीय निकायहरुबाट अलग गर्नुपर्ने बताए ।
यसबाहेक उनले रुसमाथि प्रतिबन्धको घोषणा गरेका सबै मुलुकहरुले रुसी सम्पत्तिको जफत गरी युक्रेनको पुन निर्माणका लागि खर्च गर्न सहयोग गर्नुपर्ने बताएको रोयटर्सले जनाएको छ ।
प्रतिकृया