• 1:19 am

चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित परीक्षामा सहभागी ५ नक्कली परीक्षार्थी पक्राउ

प्रकाशित मिति

२०७८ चैत्र २० गते, आईतवार ०४:०६

२० चैत २०७८, काठमाडौं : चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित परीक्षामा उपत्यकाबाट पाँचजना नक्कली परीक्षार्थीलाई नियन्त्रणमा लिएको छ । चिकित्सा शिक्षा आयोगले लिइरहेको स्नातक तहको एकीकृत प्रवेश परीक्षामा नक्कली परीक्षार्थी सहभागी हुन लागेको सूचना महानगरीय अपराध महाशाखालाई आएपछि सोही आधारमा अपराध महाशाखाको टोली परिचालित गरी उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।


१८ चैतमा भएको पहिलो दिनको परीक्षा अनुगमनका लागि महाशाखाको टोली खटियो । प्रहरी टोलीले विशेष सूचनाको आधारमा ‘अप्रेशन इको’ सञ्चालन गर्‍यो र उपत्यकाका विभिन्न परीक्षा केन्द्रमा पुगेको टोलीले पाँचजना नक्कली परीक्षार्थीलाई नियन्त्रणमा लियो । सीसीआरसी कलेज, एम्बिसन कलेज र ग्रामर स्कुल परीक्षा केन्द्रबाट प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो । पक्राउ पर्नेमा २२ वर्षीय अमर पण्डित, २२ वर्षीय अनिकेत चौधरी, २६ वर्षीय राम आशिष यादव, २४ वर्षीय इस्तियाक अहमद र २३ वर्षीय सन्नी कुमार शाह छन् ।


फ्रि स्कोलरसिपमा एमबीबीएस पढिरहेका तर, आर्थिक अवस्था कमजोर भएका जेहेनदार विद्यार्थीहरूलाई आर्थिक प्रलोभनमा पारेर परीक्षा दिन लगाएको खुल्न आएको अपराध महाशाखाका प्रवक्ता एसएसपी कृष्णप्रसाद भट्टराईले जानकारी दिए । परीक्षा दिएबापत दुई लाख देखि १८ लाख रुपैयाँसम्म रकम दिने प्रलोभन देखाएर ५० हजारदेखि दुई लाख रुपैयाँसम्म अग्रिम भुक्तानी गरेको उनले खुलाए ।


सक्कली परीक्षार्थीको विवरणमा नक्कली परीक्षार्थीको फोटो टाँसी फारम भराएको उनको भनाइ छ । परीक्षा प्रयोजनका लागि सक्कली परीक्षार्थीको नागरिकता विवरणमा समेत नक्कली परीक्षार्थीको फोटो टाँसेर प्रथम प्रतिलिपि उल्लेख गरी नक्कली नागरिकतासमेत बनाएको पाइएको उनले बताए ।

प्रतिकृया