अभिनेता पल शाहलाई थप ५ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
प्रकाशित मिति
२०७८ चैत्र ४ गते, शुक्रबार ०४:०९
४ चैत्र २०७८, काठमाडौं : नाबालिग बलात्कार गरेको अभियोगमा हिरासतमा रहेका अभिनेता पल शाहलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत तनहुँले थप ५ दिन हिरासतमा राखेर उनीमाथि अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
फागुन १५ गते पक्राउ परेका शाहलाई यसअघि नै दुई पटक म्याद थप भइसकेको छ । पछिल्लो पटक थप भएको म्याद आज सकिएसँगै अनुसन्धानका लागि ५ दिन म्याद थप गरिएको हो ।
मुद्दाको अनुसन्धान नसकिएको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँले म्याद थपका लागि सरकारी वकिलको कार्यालयमार्फत अदालतसमक्ष पेश गरेको थियो ।
अनुसन्धान नसकिँदै नवलपुरमा दर्ता भएको जबरजस्ती करणीको मुद्दामा अनुसन्धानका लागि फागुन २४ गते पल शाहलाई नवलपुर लगिएको थियो । जसले गर्दा तनहुँ प्रहरीले अनुसन्धानको बाँकी काम गर्न सकेको थिएन । नवलपुर लगिएका कारण थपिएको समयमा अनुसन्धान नसकिएको भन्दै प्रहरीले म्याद थपको लागि अदालतसँग अनुरोध गरेको थियो ।
पलसँगै उनका म्यानेजर कृष्णप्रसाद जोेशीलाई पनि थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ ।





प्रतिकृया