विमानस्थलबाट सुनसहित चार जना पक्राउ
प्रकाशित मिति
२०७८ माघ २४ गते, सोमबार ०६:५९
२४ माघ २०७८, काठमाडौँ : भन्सार छलेर ल्याएको सुन, मोबाइल र ल्यापटपसहित चार जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ। मोरङका ३० वर्षीय पदमबहादुर अधिकारी, सोही ठाउँका ३० वर्षीय मानसिंह विश्वकर्मा, झापाका २२ वर्षीय समिर रसाईली र मकवानपुरका ३२ वर्षीय गोकुल डल्लाकोटीलाई आइतबार विमानस्थलको पार्किङबाट पक्राउ गरेको हो।

प्रहरीले पदमबहादुरका साथबाट ५८ ग्राम तौल बराबरको एक थान सुनको सिक्री, तीन थान मोबाइल र एक थान ल्यापटप, मानसिंहका साथबाट ५८ ग्राम तौल बराबरको एक थान सुनको सिक्री, तीन थान मोबाइल र एक थान ल्यापटप तथा समिरका साथबाट ५८ ग्राम तौल बराबरको एक थान सुनको सिक्री, तीन थान मोबाइल र एक थान ल्यापटप बरामद गरेको हो।
भन्सार छलेर सामान ल्याउन लगाउने गोकुललाई समेत प्रहरीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। पक्राउ परेकालाई बरामद गरिएको सामानसहित आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको प्रहरीले जनाएको छ।




प्रतिकृया