• २७ भदौ २०८३, शनिबार
  • ९ः१० बिहान

आज राष्ट्रियसभा निर्वाचन : कहाँ-कहाँ हुँदैछ मतदान ?

प्रकाशित मिति

२०७८ माघ १२ गते, बुधबार ०६:५६

१२ माघ २०७८, काठमाडौँ : आज राष्ट्रियसभा सदस्यको लागि निर्वाचन हुँदैछ। १९ सिटका लागि सात प्रदेशका १४ मतदान केन्द्रमा मतदान हुन लागेको हो। निर्वाचन आयोगले प्रदेश १ मा दुई र अन्य ६ वटा प्रदेशमा एकएक मतदानस्थलभित्र दुईदुई वटा मतदान केन्द्र बनाएको छ। बुधबार बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार प्रदेश १ मा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष एवं नगरपालिका प्रमुख र उपप्रमुखले प्रदेश निर्वाचन कार्यालय, विराटनगर र प्रदेश सभा सदस्यका लागि बाली संरक्षण प्रयोगशालामा मतदानस्थल तोकिएको छ।

National Life

प्रदेश २ मा महेन्द्रनारायण निधि भवन, बागमती प्रदेशमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह, गण्डकी प्रदेशमा प्रदेश निर्वाचन कार्यालय पोखरा, लुम्बिनी प्रदेशमा कर्मचारी मिलन केन्द्र दाङ, कर्णाली प्रदेशमा प्रदेश निर्वाचन कार्यालय, सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रदेशसभा भवन, धनगढीमा मतदान हुँदैछ। राष्ट्रिय सभाका १९ सांसदको फागुन २० गते पदावधि सकिँदैछ। पदावधि सकिनु भन्दा एक महिना अगाडि नै चुनाव हुन लागेको हो।


राष्ट्रियसभा निर्वाचनमा सात प्रदेशबाट दुई हजार २५ जनाले मतदान गर्नेछन्। चुनावमा पाँच सय ३२ जना प्रदेशसभा सदस्य र १४ सय ९३ जना स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन्। राष्ट्रिय सभामा रिक्त १९ पदका लागि ४३ जनाको उम्मेदवारी परेको छ। राष्ट्रियसभा चुनावमा सत्ता गठबन्धनका पाँच दलले संयुक्त उम्मेदवारी दिएका छन्। प्रमुख प्रतिपक्षी दल एमालेले मधेस प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग सहकार्य गरे पनि अन्य प्रदेशमा एकल उम्मेदवारी दिएको छ। राष्ट्रियसभा चुनावलाई सत्ता गठबन्धन र प्रतिपक्षी दल एमालेको लडाइँको रुपमा हेरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

महामारीको समय भएकाले मतदानका लागि स्वास्थ्य मापदण्ड लागू भएको आयोगले जनाएको छ। आयोगले लागू गरेका सम्पूर्ण स्वास्थ्य मापदण्ड पूरा गर्न सबै मतदातालाई अनुरोधसमेत गरेको छ।

प्रतिकृया