• 11:14 pm

अवैध लागूऔषध सहित पक्राउ

प्रकाशित मिति

२०७८ पुष ३० गते, शुक्रबार ०२:०८

३० पुस २०७८, काठमाडौँ : छुट्टा-छुट्टै ठाउँबाट लागु औषधसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापा, दमक नगरपालिका-२ हुम्से-दुम्से सामुदायिक जंगलबाट अवैध लागूऔषध गाँजा १२ किलो र चरेस ६ ग्राम २ सय ६० मिलिग्राम सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।


पक्राउ पर्नेहरुमा ईलाम माईसेबुङ गाउँपालिका-२ बस्ने ३२ वर्षीय दिपेन्द्र राई र सोही ठाउँ बस्ने १९ वर्षीय नुवसन मुखिया रहेका छन् । प्रहरी चौकी बागखोरबाट खटिएको प्रहरीलाई देख्नासाथ मे.३ प ५६६२ नम्बरको मोटरसाइकलमा सवार उनीहरु भागेपछि तत्काल नियन्त्रणमा लिएर जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।


उनीहरु उपर जिल्ला अदालत झापाबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।



यसैगरी झापा, दमक नगरपालिका-३ बेलडाँगी शिबिर बस्ने २३ वर्षीय राजन तामाङलाई ९ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।



कास्की, पोखरा महागनरपालिका-१ भैरब चोकबाट नियन्त्रित लागूऔषध १ सय २१ एम्पुल डाइजेपाम, १ सय २१ एम्पुल फेनारगन र १ सय २१ एम्पुल नर्फिन सहित सोही महानगरपालिका-९ न्यूरोड बस्ने १९ वर्षीय रोहित बिकलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।


जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो । उनी उपर लागू औषध सम्बन्धी मुद्दामा जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।



भक्तपुर, भक्तपुर नगरपालिका-५ खसी बजारबाट करिब ५६ ग्राम अवैध लागूऔषध गाँजा सहित सोही नगरपालिका भेलुखेल बस्ने ३७ वर्षीय लक्ष्मी नारायण देउलालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बा.५३ प ७८२१ नम्बरको मोटरसाइकलमा सवार उनलाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।



बर्दिया, बढैयाताल गाउँपालिका-७ कर्णाली पुलबाट करिब ७ ग्राम ४ सय ४० मिलिग्राम अवैध लागूऔध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित बाँके कोहलपुर नगरपालिका-५ बस्ने ३० वर्षीय तुलाराम शर्मालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको रा.१ प ८४५६ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी मोटरसाइकल चालक शर्मालाई पक्राउ गरेको हो ।



कैलाली, धनगढी उपमहानगरपालिका-२ बाट १ ग्राम ६ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २४ वर्षीय सन्त शाह र २७ वर्षीय बसन्त ओली रहेका छन् ।


जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिकृया