हुम्लाको हिमालपारि गाउँ लिमी स्वास्थ्य चौकी दुई महिनादेखि बन्द
प्रकाशित मिति
२०७८ पुष २९ गते, बिहीबार ०९:१७
२९ पुस २०७८ काठमाडौँ : हुम्लाको हिमालपारिको गाउँ लिमीस्थित स्वास्थ्य चौकी दुई महिनादेखि बन्द रहेको छ। सदरमुकाम सिमकोट आएका स्वास्थ्यकर्मी नफर्किंदा स्वास्थ्य चौकी बन्द हुँदै आएको हो। स्वास्थ्य चौकीको कामले सदरमुकाम आएका स्वास्थ्यकर्मी हिमपातले लिमी फर्कन पाएका छैनन्। जसले गर्दा स्थानीय स्वास्थ्योपचारबाट दुई महिनादेखि बञ्चित हुँदै आएका छन्।
स्वास्थ्यकर्मी नआउँदा स्वास्थ्य चौकीमा भएको औषधि खेर जाने भएको छ । कात्तिकको अन्तिमतिर सदरमुकाम लागेका स्वास्थ्यकर्मी हिमपातले लिमी फर्कन सकेका छैनन् । स्वास्थ्य चौकी स्वास्थ्यकर्मी तथा कर्मचारी नहुदा बन्द रहँदै आएको छ। स्वास्थ्य चौकीमा तीन जना स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ।
नाम्खा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले हिउँदमा स्वास्थ्यकर्मी बस्नै नमानेकाले स्वास्थ्य चौकी बन्द हुने अवस्था आएको बताए। उनले स्वास्थ्य चौकीका केही स्वास्थ्यकर्मी तथा कर्मचारीलाई अवकाशसमेत दिइएकाले लिमीमा पुग्न समस्या भइरहेको जानकारी दिए।






प्रतिकृया