• 3:59 pm

नेपाली काँग्रेस : नयाँ नेतृत्व चयनका लागि शुरु भयो मतदान

प्रकाशित मिति

२०७८ मंसिर २७ गते, सोमबार ०८:५०

२७ मंसिर, काठमाडौं : नयाँ नेतृत्व चयनका लागि नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा आज बिहानबाट मतदान हुने क्रम जारी छ । मतदान स्थलमा प्रतिनिधिहरू लाइन लाग्न सुरु गरिसकेका छन् भने त्यही लाइनमा पुगेर उम्मेदवारहरुले मत मागिरहेका छन् ।मतदानका लागि ४ हजार ७ सय ४३ जना प्रतिनिधिको नामावली सार्वजनिक भएको छ ।



भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा मतदान केन्द्र बनाइएको छ । कुल १३४ पदका लागि मनोनयन दर्ता भएकोमा प्रदेश २ खुला केन्द्रीय सदस्य पदमा आनन्दप्रसाद ढुङ्गाना र रमेश रिजाल निर्विरोध निर्वाचित भइसकेका छन् । अब १३२ पदका लागि मतदान हुनेछ ।


मतदान गर्नका लागि राष्ट्रिय सभागृहमा २९३, भृकुटीमण्डप प्रांगणमा २९३ बुथ र भृकुटीमण्डपको हलमा ५१४ बुथ राखिएको छ । महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भातृ र शुभेच्छुक संघसंस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका मतदाताले मतदान गर्नेछन् ।


महाधिवेशनबाट सभापति दुई उपसभापति, दुई महामन्त्री, आठ जना सहमहामन्त्री निर्वाचित हुनेछन् । केन्द्रीय समितिमा विभिन्न क्लस्टरबाट १२१ जना निर्वाचित हुनेछन् । बिहान आठ बजेदेखि सुरु हुने भनिएको मतदान केही ढिला भएको थियो । साँझ ५ बजेसम्म मतदान गरिसक्ने कार्यतालिका छ ।

प्रतिकृया