सिजनमै मलको अभाव, उत्पादकत्व घट्दै
प्रकाशित मिति
२०७८ मंसिर १६ गते, बिहीबार ०७:५९
१६ मंसिर , २०७८, धनगढी : सुदूरपश्चिम प्रदेशको अन्न भण्डारका रूपमा रहेका तराईका कैलाली र कञ्चनपुरका किसानले सिजनका बेला जहिल्यै मलका लागि सास्ती बेहोर्नुपरेको छ । एक पटक रासानियक मलको प्रयोग भइसकेको खेतमा बालीपिच्छे प्रयोग नगर्दा उत्पादकत्व घट्ने भएकाले किसानलाई बाली लगाउने समयमा सधैं मलको चिन्ता हुन्छ । मल नपाउँदा उत्पादकत्व घट्दै गएको कैलाली फूलबारीका गणेश बमले बताए ।
कैलालीको धनगढीस्थित कृषि सामग्री कम्पनीको रित्तोमल गोदाम । ‘रासायनिक मल एकपटक प्रयोग भइसकेको खेतलाई हरेकपटक मल चाहिन्छ,’ उनले भने, ‘सरकारले कहिल्यै पनि सजिलो गरी मल उपलब्ध गराउन्न ।’ चार बिघा खेतका लागि सहकारीबाट कहिल्यै पर्याप्त मल पाउन नसकेको उनले गुनासो गरे ।

यसपटक पनि उनी गहुँ बालीका लागि गाउँको सहकारी संस्था धाएका धायै छन् । तर मल आउने निश्चित छैन । संघीय सरकारले आवश्यकताभन्दा कम मल किन्ने भएकाले किसानलाई सहज रुपमा पुर्याउन नसकिएको मल आपूर्ति गर्ने संस्था कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीका प्रमुख नवलसिंह बोगटीले बताए ।

प्रदेश कार्यालयले गहुँ खेतीका लागि कम्तीमा ६ हजार टन डीएपी र युरिया माग गरेको थियो । अहिलेसम्म ७४५ टन आएको छ । अब बाँकी साढे सात सय टन जति आउने सम्भावना रहेको उनले बताए ।
भैरहवा गोदाममा ९ हजार टन मल आइपुगेकामा सुदूरपश्चिमले १५ सय टन मात्रै पाउने उनले बताए । कृषि सामग्री कम्पनीले यो वर्ष मल नै कम खरिद गरेको उनको भनाइ छ । देशभरका लागि २५ हजार टन मल खरिद गर्दा सुदूरपश्चिमको पनि कोटा कम छुट्याइएको बोगटीको भनाइ छ । कैलालीका लागि मात्रै डीएपी १२ हजार र युरिया १० हजार टन मल चाहिने उनले जनाए । ‘अहिले धनगढीको गोदाम घर रित्तिएजस्तै छ,’ उनले भने, ‘गोदाममा जम्मा २१ टन डीएपी छ । किसानलाई बाँड्न खोज्दा लुछाचुँडी हुने भएकाले यति स्टक राखिएको हो ।’ समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।




प्रतिकृया