लिङ्देन समूहले मध्यरातमा गर्यो पार्टी कार्यालय घेराउ
प्रकाशित मिति
२०७८ मंसिर १५ गते, बुधबार १२:५१
१५ मंसिर २०७८, काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन प्रतिनिधि विवाद सतहमा आएको छ । संस्थापनले जिल्लाबाट आएका महाधिवेशन प्रतिनिधिको सूचीमा व्यापक फेरबदल गरेको लिङ्देन समूहले आरोप लगाई गएराति पार्टी कार्यालय घेराउ गरेको छ ।
लिङ्देन समूहका नेता कार्यकर्ताले मध्यरातमा पार्टी कार्यालय पुगेर कार्यालय घेराउ गर्नुका साथै अध्यक्ष कमल थापाविरुद्ध नाराबाजी पनि गरेका हुन् । महाधिवेशनमा सहभागी हुन नसक्नेको ठाउँमा अर्को प्रतिनिधि राख्न खोज्दा विरोध भएको राप्रपाका एक नेताले बताएका छन् ।
यता लिङ्देन समूहले कमल थापाकै योजनाअनुरुप चलखेल गरेर महाधिवेशन प्रतिनिधि आफू निकटको राख्न खोजिएको आरोप लगाएको छ । राप्रपा नेता दमन बस्नेतले केन्द्रीय कार्यालय धुमबाराहीमा संस्थापन पक्षद्वारा राजेन्द्र लिङ्देन पक्षधर मतदाताहरूको नाम नामावलीबाट हटाउन लागेको खबर बाहिरिएपछि आफूहरु मध्यरातमा पार्टी कार्यालय घेराउ गर्न पुगेको बताए । यस क्रममा कमल थापाबिरुद्ध नाराबाजीका साथै थापा निकटका भास्कर भद्रालगायतसँग लिङ्देन समर्थकको भनाभन समेत भएको जानाकारी गराइएको छ ।








प्रतिकृया