• १९ असोज २०८३, सोमबार
  • ९ः२५ राती

साझासँगको एकीकरण गल्ती भएको मिलन पाण्डेको स्वीकार

प्रकाशित मिति

२०७८ मंसिर ६ गते, सोमबार ०१:५५

६ मंसिर, काठमाडौं : विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले दोस्रो पटक पार्टी एकीकरण गरेर गल्ती गरेको स्वीकारेका छन् ।पार्टी एकीकरण गर्दा बाहिरै बसेकाहरुले नयाँ दल दर्ता गरेकोमा बधाई दिँदा उनले त्यसवेला एकीकरण गरेर गल्ती भएको स्वीकारेका हुन् ।

National Life

पाण्डेले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘गत मंसिरमा विवेकशील र साझा पार्टीको एकीकरण हुँदै गर्दा तपाईँहरूले ‘गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशिता’ मा अर्को पक्षको विश्वास गर्न सकिँदैन भन्नुभएको थियो । त्यहाँ तपाईंहरू सही साबित हुनुभयो ।’


उनले छिट्टै संगठनिकरुपमा पनि सँगै हुने बताउँदै भनेका छन्, ‘तत्कालीन हिसाबबाट विवेकशील र साझाको एकीकरणको नेतृत्व मैले गरेको हुँदा म तपाईंहरु १३ जनासँग माफी माग्छु । हाम्रो उद्देश्य पवित्र थियो ।’

Classic Tech Mobile
Classic Tech Desktop

विवकेशील र साझा पार्टीबीच २०७७ मंसिरमा एकीकरण हुँदा तत्कालीन उपाध्यक्ष राईसहित १३ जनाले एकीकरण प्रक्रियामा सहभागी नहुने निर्णय गरेका थिए ।


साझा पार्टीका तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रको राजनीतिक एजेण्डामा स्पष्ट छलफल नभइ एकीकरण गर्नु नहुने उनीहरुको धारणा थियो । विवेकशीलका पूर्वसंयोजक उज्जवल थापाले पनि तत्काल साझा पार्टीसँग एकीकरण गर्नु नहुने अडान राखेका थिए । तर पार्टीमा बहुमत सदस्यले एकीकरण गर्ने निर्णय गरेका थिए ।


निर्वाचन आयोगले राई पक्षको नेपाल विवकेशील पार्टी दर्ता भएको प्रमाण पत्र आइतबार दिएको छ । त्यससँगै प्रतिक्रिया दिँदै पाण्डेले भनेका छन्, ‘तपाईंहरूलाई पार्टी दर्ताका निम्ति धेरै–धेरै बधाई छ । तपाईंहरूले सुसंस्कृत राजनीति, वैकल्पिक राजनीति र विवेकशील आन्दोलनलाई न्याय गर्नुहुनेछ र नेतृत्व गर्नुहुनेछ भन्ने विश्वास छ ।’


पाण्डेले त्यसबेला तत्कालीन साझा पार्टीका नेताहरुले लिखित रूपमा अग्रगामी, प्रगतिशील, मध्यवामपन्थी, संविधानवादलाई पूर्णतः पालना गर्ने, विगतका आन्दोलनका उपलब्धिलाई रक्षा गर्ने भनेको पनि स्मरण गराएका छन् । साथै, मौखिक रूपमा पनि व्यवस्था विरोधी एजेन्डा नबोक्ने सहमति र गणतन्त्र, सङ्घीयता, धार्मिक स्वतन्त्रता र समावेशिताबारे सहमति जनाएकाले त्यतिवेला एकीकरणको निर्णय लिइएको स्पष्टीकरण दिएका छन् ।


‘हामी सुसंस्कृत विवेकशील राजनीति गर्दै थियौँ, यसरी लप्पनछप्पन गर्ने कुरा सोच्न सक्ने कुरा भएन’ पाण्डेले भनेका छन्, ‘आखिर राजनीति विश्वास न हो । हामीले विश्वास गर्यौँ ।’ उनले अगाडि भनेका छन्, ‘आज दुःखको कुरा के भयो भने सु–संस्कृत राजनीतिमा अर्को पक्षले लेखेकै र भएकै सहमति मान्नु मेरो गल्ती भयो भन्नुपरेको छ । आज वैकल्पिक राजनीतिमा लप्पनछप्पन नजान्दा यो परिस्थिति आएको हो ।’

प्रतिकृया