केपी ओलीलाई नमान्ने एमाले नै होइनन्, दयामाया गरेर नेतृत्वमा लैजान सकिन्नः विष्णु रिमाल
प्रकाशित मिति
२०७८ मंसिर ४ गते, शनिबार ०९:५४
४ मंसिर २०७८, काठमाडौं : नेकपा एमालेका प्रभावशाली नेता विष्णु रिमालले पार्टीभित्र केपी ओली पक्ष र गैर केपी ओली पक्ष भन्ने नरहेको बताएका छन् । उनले केपी ओलीलाई नमान्ने एमाले नै नभएको जिकिर गरे । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रिमालले भने, “अहिले एमालेमा केपी ओली पक्ष मात्रै छ । जो केपी ओलीलाई मान्दैनन्, उनीहरु एमाले नै होइनन् । गैर केपी ओली पक्ष त एमालेबाट उछिट्टिसकेको छ ।”
नेता रिमालले एमालेमा माधव नेपाललाई छाडेका या पूर्वमाओवादी या रैथाने र आगन्तुक एमाले भन्ने स्थिति नरहेको दाबी गरे । उनले भने, हो, “हामीकहाँ विभिन्न विचारधाराबाट आएका साथीहरु हुनुहुन्छ । एमाले भनेको त्रिशूली र मर्स्याङ्दी मिसिएपछि नारायणी बनेजस्तै हो । एमाले अब रैथाने र आगन्तुक भनेर विभाजन गर्न चाहँदैन ।”
विगतमा माधव नेपाल समूहमा रहेका र पूर्व माओवादी नेताहरु एमालेमा सुरक्षित होलान् भन्ने पत्रकार धमलाको प्रश्नमा रिमालले थपे, “आम कार्यकर्ता त ढुक्क छन् भने नेताहरुले जिम्मेवारी किन नपाउने रु अब हिजोको कुरा गरेर हुँदैन । सबै नेता, कार्यकर्ता एमाले भइसक्नुभएको छ, केपी ओली पक्ष भइसक्नुभएको छ । को(को नेता कुन पदमा आउने भन्ने कुरा गौण हो । कतिपय नेताहरुले अध्यक्षलाई भेटिरहनुभएको छ । अब अध्यक्षले भनेर मात्र पनि भएन, चयन गर्ने त प्रतिनिधिले हो ।”
ओलीले साढे तीन वर्ष सरकारमा बसेर गरेका काम ठीक थियो कि थिएन भन्ने जनमत परीक्षण गर्न पनि अध्यक्षमा दोहोर्याउनुपरेको उनले स्पष्टीकरण दिए । उनले भने, “सकेसम्म सबै पदमा सर्वसम्मत गर्ने हो, अध्यक्षमा सर्वसम्मत हुने नै स्थिति छ । त्यसो हुन नसक्दा विद्युतीय मतदान हुन्छ ।”
विद्युतीय मतदान कत्तिको विश्वसनीय छ भन्ने अर्को प्रश्नमा रिमालले भने, “विज्ञानमा विश्वास नगरे केमा गर्ने रु हामीले त नवौं महाधिवेशनमै विद्युतीय मतदान गर्न खोजेका हौं । माधव नेपालले गर्न दिनुभएन । दुई हप्तासम्म भोट गनेर बस्नुपर्यो ।”
पदाधिकारीमा महिला आउने स्थिति छ कि छैन भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, “८ लाख ५५ हजार ३ सय सदस्यमध्ये २४ प्रतिशत महिला छन् । महाधिवेशनमा ३५, ३६ प्रतिशत महिला प्रतिनिधि छन् । संविधान र पार्टी विधानले गरेको व्यवस्था अनुसार हुन्छ । तर पदाधिकारीमा ।प्रतिस्पर्धा नै गर्नुपर्छ । आरक्षणमा आउनेले कसरी नेतृत्व गर्छ रु दयामाया गरेर नेतृत्वमा लैजाने कुरा हुँदैन ।”
दसौं राष्ट्रिय महाधिवेशन नेपालको कम्युनिस्ट आन्दोलन र एमालेको जीवनमा नयाँ पानीढलो बन्ने र मुलुकलाई कसरी अघि बढाउने भन्ने विषयमा धेरैलाई सन्देश दिने उनले विश्वास व्यक्त गरे ।
अमेरिकी सहायक विदेश मन्त्री डोनाल्डलुले एमाले अध्यक्ष ओलीलाई एमसीसी चाँडै पास गर्न दबाब नदिएको उनले दाबी गरे । उनले थपे, “सहायक विदेशमन्त्री एमसीसी पास गर्दा नेपाललाई फाइदा हुन्छ, चाहिँदैन भने प्रक्रिया पूरा गरेर फिर्ता गर्नुस् भन्नुभएको हो । कुनै दबाब दिनुभएको छैन ।”
एमसीसी अड्काउने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भएको उनको आरोप छ । उनले भने, “दाहालको निर्देशनमा पहिलेका र अहिलेका सभामुखले एमसीसीलाई अघि बढाएनन् । सत्ता गठबन्धनसँग १६५ सिट छ भने पास गरे हुन्छ । एमालेसँग अहिलेसम्म यसबारे कसैले कुरा गरेको छैन ।”








प्रतिकृया