• 5:59 pm

ईन्धनको मूल्य बृद्धिको विरोधमा उत्रियो एमाले अखिल

प्रकाशित मिति

२०७८ कार्तिक २५ गते, बिहीबार ०६:१३

२५ कार्तिक, २०७८ काठमाडौँ :  दुई साताको अन्तरालमा नै जनताको ढाड सेक्ने गरी पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु उत्रिएको छ ।


अनेरास्ववियु अध्यक्ष सुनिता बरालले आज एक विज्ञप्ती जारी गर्दै मूल्यबृद्धि फिर्ता नलिए जस्तोसुकै आन्दोलनमा उत्रन तयार भएको बताएकी छन् । उनले आज जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धिले तमाम क्षेत्रको महंगाई बढ्न गई सेवाग्राही र सबै जनतामा यसको प्रत्यक्ष असर पर्ने भएकाले तत्काल मूल्यवृद्धि फिर्ता लिन जोडदार माग गर्दछ । अन्यथा अनेरास्ववियु मुल्य वृद्धि विरुद्ध जस्तोसुकै प्रतिकार गर्न बाध्य हुनेछ । साथै देशैभरिका अनेरास्ववियुका नेता कार्यकर्ताहरुलाई मुल्यवृद्विको विरुद्धको आन्दोलनमा उत्रन आहन गर्दछ ।’


विज्ञप्ति :
नेपाली विद्यार्थीहरुको आशा र भरोषाको धरोहर, राष्ट्रिय स्वाधिनता, न्याय र समानताको पक्षधर एवम् मुलुकको गरिब जनताको जनजिविकाको पक्षमा सदैव क्रियाशील संगठन अनेरास्ववियु मुलुकमा व्याप्त महंगी, भ्रष्टाचार, चुहावटको विरुद्ध फेरि संघर्षमा होमिनुपर्ने अवस्था आएको छ । हामी मुलुकमा व्याप्त विकृति, विसंगति, आर्थिक भ्रष्टाचार एवम् मनपरितन्त्रको विरुद्ध सदैव सम्झौताहिन लडाईमा समाहित हुँदै आएको छौं ।


आज फेरि परमादेशी सरकारको निर्देशनमा नेपाल आयल निगमले १२ दिनकै अन्तरालमा पेट्रोलमा ३ रुपैया, डिजलमा ३ रुपैया, मट्टितेलमा ३ रुपैया, हवाई ईन्धनमा ५ रुपैया र एल।पी ग्यासमा ७५ रुपैया मूल्य वृद्धि गरी जनताको आधारभूत आवश्यकताको बेवास्ता गर्दै यस परमादेशी सरकार र सरकार नियन्त्रित निकायहरु निरन्तर जनतालाई पीर र मार्काको बोझ बोकाउन घुँडा धसेर लागेको तथ्य सर्वविदितै छ ।


मुल्य समायोजन भन्ने बाहनामा अन्तराष्ट्रिय बजारमा मुल्य बढ्दा बढाउने तर घटदा नघटाई आयल निगम लगायतका सरकारी निकायहले चुहावट नियन्त्रण एवम् बोनस र भत्ता वितराणमा बेवास्ता गरि जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष रुपमा गाँसिएका वस्तुहरुमा मुल्य वृद्धि गर्दै आफ्ना निकाय र कर्मचारीको मनोमानिलाइ लुकाउन निरन्तर घाटामा देखाएर केवल नाफा निकाल्ने उद्देश्य राखि पटक–पटक मुल्य वृद्धि गर्ने कदमप्रति अनेरास्ववियु गम्भीर खेद व्यक्त गर्न चाहन्छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिले तमाम क्षेत्रको महंगाई बढ्न गई सेवाग्राही र सबै जनतामा यसको प्रत्यक्ष असर पर्ने भएकाले तत्काल मूल्यवृद्धि फिर्ता लिन जोडदार माग गर्दछ ।


अन्यथा अनेरास्ववियु मुल्य वृद्धि विरुद्ध जस्तोसुकै प्रतिकार गर्न बाध्य हुनेछ । साथै देशैभरिका अनेरास्ववियुका नेता कार्यकर्ताहरुलाई मुल्यवृद्विको विरुद्धको आन्दोलनमा उत्रन आहन गर्दछ ।


यसैबीच पोखरामा प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला दहन गरेको छ । आज बिहान पृथ्वीनारायण क्याम्पस परिसरमा अनेरास्ववियुले पेट्रोलियम पदार्थ महँगीको विरोधमा प्रदर्शन गर्दै पुतला दहन गरेको हो ।


अनेरास्ववियु गण्डकी संयोजक प्रकाश पौडेलले पेट्रोलियम पदार्थको मूल्यवृद्धिसहित मन्त्रीको अभिव्यक्ति र महँगीले जनता मारमा परेको भन्दै त्यसको विरोधस्वरूप प्रदर्शन र पुतला दहन गरिएको जानकारी दिए । पौडेलकै नेतृत्वमा अनेरास्ववियु कार्यकर्ता नाराबाजीसहित प्रदर्शनमा उत्रिएका थिए ।

प्रतिकृया