• २० असोज २०८३, मंगलबार
  • ४ः४४ बिहान

राष्ट्रपतीय प्रणाली लागू नभएसम्म सरकार स्थिर बन्‍न सक्दैन : बाबुराम

प्रकाशित मिति

२०७८ कार्तिक २३ गते, मंगलवार ०४:५३

२३ कार्तिक, २०७८ काठमाडौँ : जनता समाजवादी पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली लागू नभएसम्म देशमा स्थिर सरकार बन्न नसक्ने बताएका छन् । गोरखाको शहीद लखन गाउँपालिकाको घैरुङमा मंगलबार आयोजित जनभेटघाट कार्यक्रममा डा भट्टराईले अहिलेको शासन प्रणालीले देशमा जति सरकार बने पनि स्थिर सरकार बन्न नसक्ने बताएका हुन् ।

National Life

‘संविधानसभाबाट संविधान बनाए पनि देशमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली नभएसम्म स्थिर सरकार बन्दैन’, उनले भने, ‘जबसम्म योग्य मान्छे, योग्य समूह सबै छानेको प्रतिनिधिले नेतृत्व लिँदैन, त्यो नभएसम्म देशमा सही अर्थमा लोकतन्त्र पनि आउँदैन र विकास र समृद्धि पनि हुँदैन।’ उनले असल व्यक्ति नआएसम्म देशमा परिवर्तन सम्भव नहुने बताए।


उनले माओवादीलगायतका दलहरुले अहिलेको संविधानमा सबैथोक पुग्यो भन्नु यथार्थ नभएको भन्दै अहिलेको संविधान पूर्ण नभएको बताए । ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली लागू नभएसम्म संविधानसभाबाट बनेको संविधान पनि पूर्ण छैन’, डा भट्टराईले भने, ‘संविधान आधा गिलास खाली र आधा गिलास भरिएको जस्तो मात्र भएको छ, प्रत्यक्ष राष्ट्रपतीय प्रणाली लागू गर्न सके मात्र त्यो पूरा हुन्छ।’

Classic Tech Mobile
Classic Tech Desktop

अहिलेको नेपालको सङ्घीयता आफूहरुले खोजेको जस्तो सङ्घीयता नभएको पनि अध्यक्ष डा भट्टराईको भनाइ छ । ‘विभिन्न जातजाति, भाषा र समुदायले बनेको मुलुक हो, सङ्घीयता भनेको आफ्नो भाषा, इतिहास थातथलो मिल्ने गरी भौगोलिक सीमाङ्कन गरिएको हुनुपर्छ, देश ठूलो भएकाले काँक्रो चिरे जस्तो चिर्ने भन्ने मात्र सङ्घीयता होइन’, डा भट्टराईले भने, ‘जातीय र भाषिक विविधता भएको देशमा त्यही अनुसार सीमाङ्कन हुनुपर्थ्यो।’


अर्को प्रसङ्गमा उनले हिजोका माओवादी एकता आवश्यक भए पनि पुरानै अवस्था नभइ पुराना माओवादी नयाँ ठाउँमा आएर एकता हुनुपर्ने बताए । ‘नयाँ विचारशैली र ढाँचा बोकेको नेतृत्व प्रणाली भएको ठाउँमा जाऔँ, माओवादीको हिजोको विचारले मात्र पुग्दैन’, उनले भने, ‘सबै माओवादी एकै ठाउँमा आएर हिजोकै ठाउँमा फर्कने भन्ने कुरा भावनात्मक कुरा मात्र हो।’

प्रतिकृया