• २० असोज २०८३, मंगलबार
  • १ः५५ राती

गोरखा दरबारको फूलपाती हनुमानढोका पठाइयो

प्रकाशित मिति

२०७८ आश्विन २६ गते, मंगलवार ०१:५२

२६ असोज,२०७८ गोरखा : गोरखाको गोरखा दरबारबाट काठमाडौंको हनुमानढोका फूलपाती पठाइएको छ । मंगलबार बिहान ८ बजेर २५ मिनेटको साइतमा निकालिएको फूलपाती बा २ झ २१२९ नम्वरको सरकारी गाडीमा राखेर काठमाडौं पठाइएको दरवारका पुजारी शारदा प्रसाद भट्टराइले जानकारी दिए । गोरखाबाट आएको फूलपाती आज अपराह्न साढे चार बजे बाजागाजासहित काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा भित्राउने कार्यक्रम छ ।

National Life

गोरखा नगरपालिका–५ पस्लाङ क्षेत्रबाट फूलपाती संकलन गरिएको थियो । ‘सुसारेहरु बिहानै ५ बजे जंगलमा गएर नवपत्रिकाहरु संकलन गरेर ल्याउनुभयो,’ भट्टराइले भने, ‘त्यही नवपत्रिकाहरु फूलपातीको रुपमा आज हनुमान ढोका पठाएका हौं ।’ नवपत्रिकामा अशोक, बेल, दारिम, सामा, धान, उखु, केरा, जयन्तीका, हलेदो लगायत रहेको उनले बताए ।


प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, गोरखा दरबार हेरचाह अड्डाका कर्मचारी, गोरखा दरबारका पुजारीहरु लगायतको उपस्थितिमा फूलपाती पठाइएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

पहिले धादिङको जीवनपुर, नुवाकोट हुँदै हिंडेर फूलपाती हनुमानढोका पुर्याउने प्रचलन थियो । २०६६ सालदेखि यो क्रमलाई तोडेर मोटरबाटोको प्रयोग गर्न थालिएको गोरखा दरबार हेरचाह अड्डाले जनाएको छ । राज्य एकीकरणको क्रममा पृथ्वी नारायण शाहले काठमाडौं माथि बिजय प्राप्त गरेर राजधानी बनाएसँगै गोरखाको फूलपाती हनुमानढोका लाने प्रचलन शुरु भएको विश्वास छ ।


आज बेलुका चार बजे बाजागाजा सहित हर्ष बढाइँका साथ गोरखा दरबारको दशैं घरमा फूलपाती भित्र्याइने दरबार हेरचाह अड्डाले जनाएको छ ।

प्रतिकृया