• 11:31 am

चितवनमा केन्द्रीय नेताहरूको ओइरो

प्रकाशित मिति

२०७८ आश्विन २६ गते, मंगलवार ०१:३०

फाइल तस्वीर
२६ असोज, २०७८ काठमाडौँ :  चितवनमा केन्द्रीय नेताहरूको ओइरो लागेको छ । आज (मंगलबार) मात्रै नेपाली कांग्रेस र नेकपा एमालेका चार जना केन्द्रीय नेता चितवन छन् । जिल्लाका विभिन्न स्थानमा आयोजना गरिएको दसैंको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन नेताहरू चितवनमा छन् ।


कांग्रेस रत्ननगर नगर समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन कांग्रेस महामन्त्री डा. शशांक कोइराला चितवनमा छन् ।


महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री एवं कांग्रेस नेतृ उमा रेग्मी पनि आजै चितवनमा छन् । उनको गृह जिल्ला नै चितवन भएकाले आज घरमा भेटघाट हुने छ । बिहीवार महिला संघले आयोजना गर्ने दसैंको शुभकामना आदानप्रदान कार्यक्रमलाई उनले सम्बोधन गर्ने कार्यक्रम छ ।


खैरहनी नगरपालिकामा आयोजना गरिएको दसैंको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन एमालेका नेता एवं पूर्वमन्त्री प्रदीप ज्ञवाली चितवनमा छन् । त्यसैगरी प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री एवं कांग्रेस नेता उमेश श्रेष्ठ दिउँसो साँढे १ बजे चितवन आउने कार्यक्रम छ । हिजो सोमबार कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल चितवन आएका थिए ।


जनता समाजवादी पार्टीका नेता अशोक राई नवलपरासीमा आयोजित पार्टी सुदृढीकरण कार्यक्रममा सहभागी भएर आजै काठमाडौ फर्किएका छन् । केही दिनअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गृहजिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुन आएका थिए ।


उनी आएकै दिन नेकपा एमालेका नेता एवं पूर्व गृहमन्त्री रामबहादुर थापा पनि गृहजिल्लाका विभिन्न स्थानमा आयोजित दसैंको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी भएर फर्किएका थिए ।

प्रतिकृया