भदौ १६ देखि पोखरा–सिमरा सिधा उडान गर्दै बुध्द एयर
प्रकाशित मिति
२०७८ भाद्र ४ गते, शुक्रबार ०५:३०

४ भाद्र, २०७८ काठमाडौँ : यही भदौ १६ गतेदेखि बुध्द एयरले पोखरा–सिमरा सिधा उडान सुरु गर्ने भएको छ । कम्पनीले सिधा उडानबाट पोखरालाई देशको विभिन्न प्रदेशसँग जोड्ने क्रममा पोखरा–सिमरा सिधा उडान सुरु गरेको हो ।
सुरुमा साताको ३ दिन अर्थात आईतबार, बुधबार र शुक्रवार पोखरा–सिमरा सिधा उडान हुने छ । त्यसपछि यात्रुको मागअनुसार पोखराबाट सिमरामा दैनिक उडान भर्ने योजना कम्पनीले बताएको छ । कम्पनीले पोखराबाट सिमरा उडानको समय १२ः२० र सिमराबाट पोखराको उडान समय १३ः१५ तोकेको छ ।
यस उडानबाट दुवै प्रदेश तथा शहरका जनता लभान्वित हुने कम्पनीको भनाई छ । यसबाट यी दुवै ठाउँको पर्यटकीय स्थलमा पनि चहलपहल बढ्ने बुध्द एयरका बजार निर्देशक रुपेश जोशीले बताए । उनका अनुसार सिमरा-वीरगञ्ज वरिपरि रहेका विभिन्न धार्मिक तथा पर्यटकीय गन्तव्यहरुमा चहलपहल बढ्नेछन् । सिमरा(वीरगञ्ज देशकै ठूलो औद्योगिक करिडोर भएकोले व्यापारिक गतिविधिमा पनि सहयोग पुग्ने बुध्द एयरको विश्वास रहेको छ ।
सिमरा-वीरगञ्जका वासिन्दा पनि पर्यटकीय शहर पोखरा तथा वरिपरि रहेका तालतलाउ तथा हिमाल श्रृंखलाको आनन्द लिन सक्छन् । यस उडानबाट वीरगञ्ज नजिक रहेका भारतीय शहरहरु पटना, दरभंगा, मजफ्फरपुर आदि गन्तव्यका पर्यटकहरु पनि आकर्षित हुने बुध्द एयरले विज्ञप्तिमा जनाएको छ । बुध्द एयरको भगिनी संस्था बुध्द होलिडेजले यी दुवै गन्तव्यका लागि आकर्षक होलिडी प्याकेजहरु पनि ल्याएको छ । सिमरा–पोखरा प्याकेजका लागि १० हजार ९९९ मा २ रात ३ दिनको प्याकेज दिने छ ।
यो प्याकेजमा दुईतर्फि हवाई टिकट, पोखरा एयरपोर्टबाट होटल तथा होटलबाट पोखरा एयरपोर्ट गाडी सुविधा, वातानुकुलित ट्वीन शेयरिङ रुम र बिहानको ब्रेकफास्ट संलग्न रहेको छ । बुध्द एयरसँग ७२ सिटे एटीआर–७२ जहाज १० वटा, ४२ सिटे एटीआर–४२ जहाज ३ वटा र दुईवटा बीचक्राफ्ट जहाहरु रहेका छन् ।
प्रतिकृया