एसईईको नतिजा साउन २५ गतेभित्र : परीक्षा नियन्त्रक अधिकारी
प्रकाशित मिति
२०७८ श्रावण १३ गते, बुधबार ०४:२९
१३ साउन, २०७८ काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई)को आन्तरिक मुल्यांकनको नतिजा यही साउन २५ गतेभित्र प्रकाशित गर्ने भएको छ । परीक्षा बोर्ड ,परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक रुद्र अधिकारीले साउन २५ गते भित्रमा २०७७ को एसईई नतिजा प्रकाशित गर्ने गरी अहिले तीव्ररूपमा काम भैरहेको बताउनुभयो ।
कुनै प्राबिधिक कठिनाई नआए आगामी शुक्रबारभित्र विद्यार्थीको नतिजा रुजु गरिसक्ने र त्यसको एक साताभित्रमा नतिजा प्रकाशन गर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । सबै जिल्लाबाट विद्यार्थीहरुको मूल्यांकन नतिजा आएर ईन्ट्री गरिसकिएको र नम्बर रुजु गर्ने काम भैरहेको परीक्षा नियन्त्रक अधिकारीले बताउनुभयो ।
यसअघि साउन मसान्तमा परीक्षा प्रकाशन गर्ने भनिए पनि त्यो भन्दा छिटो गर्ने तयारी भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार २०७७ सालको एसईई परीक्षाको लागि ५ लाख १७ हजार विद्यार्थीले रजिष्ट्रेशन फारम भरेका छन् ।
गत जेठ १३ देखि भौतिक रूपमा एसईई परीक्षा सञ्चालन गर्ने गरी बोर्डले तालिका सार्वजनिक गरेको थियो । तर दोस्रो लहरको कोभिड–१९ संक्रमण बढ्दै गएपछि गरिएको निषेधाज्ञाका कारण गत वैशाख २७ गते एसईई परीक्षा स्थगित भएको थियो ।
कोरोना जोखिम कम नभएपछि जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित गर्ने निर्णय गरेको थियो ।
बोर्डले एसईईको विद्यार्थी मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणिकरण कार्यविधि, २०७८ जारी गर्दै सैद्धान्तिक तर्फ कुनै पनि विषयमा ८० प्रतिशत वा सो भन्दा बढी प्राप्तांक प्राप्त गर्ने विद्यार्थीको विषगत शिक्षकले के कारण उक्त नम्बर दिइएको हो भनेर कारण खुलाउनु पर्ने जनाएको छ ।
कोभिडकै कारणले २०७६सालको एसईई परीक्षाको नतिजा पनि आन्तरिक मुल्यांकनबाट प्रकाशित गरिएको थियो।






प्रतिकृया