• ४ असोज २०८३, आइतबार
  • १ः४५ राती

विद्यालय तहदेखि नै योग शिक्षा र अभ्यासलाई महत्व दिऔं : प्रधानमन्त्री

प्रकाशित मिति

२०७८ असार ७ गते, सोमबार ०४:२४

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा भइरहेको सांस्कृतिक अधःपतन र असत्यलाई महत्व दिइने प्रवृत्ति अन्त्यका लागि योग र साधनालाई प्रश्रय दिनुपर्ने बताएका छन् । विश्व योग दिवसका अवसरमा आज मूल समारोह समितिको आयोजनामा आयोजित भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सांस्कृतिक वैभवपूर्ण सभ्यतालाई कायम राख्न विद्यालय तहदेखि नै योग शिक्षा र अभ्यासलाई महत्व दिन आग्रह गरेका हुन् ।

National Life

उनले योग गुरुहरूलाई आफ्ना योगाभ्यास विधिमा आवश्यक परिमार्जन गरी हरेक व्यक्तिलाई सत्य निष्ठाप्रति सङ्कल्पित गराउन आग्रह गर्दै भने, ‘‘योग कुनै अन्धविश्वास होइन, यो मनको सफाइको माध्यम हो, यो एक अनुशासन पनि हो । योगका नाममा देखाइने आडम्बर र गरिने व्यापारलाई स्थान दिनु हुँदैन ।’’ प्रधानमन्त्री ओलीले सबै नागरिकलाई खोप लगाएर आगामी वर्षको योग दिवसलाई खुल्ला स्थानमा मास्कबिना आउन सक्ने वातावरण निर्माण गरिने बताए । उनले प्राचीन ऋषिमुनिहरूको तपस्या र साधनाका साथै योगको उद्गमस्थल नेपाल भएकाले यसलाई विश्वव्यापी बनाउन सरकार लागिरहेको पनि उल्लेख गरे ।


कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले कक्षा ४ देखि नै योग विषयको पाठ्यवस्तु तयार भइसकेकाले योग शिक्षालाई थप प्रवद्र्धन गरिने बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाले योगलाई पर्यटनका रुपमा विकास गर्न कार्ययोजना बनाइने बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

योगगुरु स्वामी आनन्द अरुणले आफूभित्र मिल्नु नै योग भएको जनाउँदै नेपालले बुद्ध जयन्ती वा उपयुक्त दिनमा ध्यान दिवस मनाउन विश्व समुदायलाई प्रस्ताव गर्नुपर्ने बताए । योगगुरु डा. हरिप्रसाद पोखरेलले योग एक सर्वोच्च चेतना भएकाले यसले विविधता र एकतालाई उजागर गर्ने जनाए ।


संयुक्त राष्ट्रसङ्घले सन् २०१४ देखि आजको दिन ९ जुन २१० लाई विश्व योग दिवस मनाउन थालेको हो । आजको दिन वर्षकै लामो दिन र सूर्य दक्षिणायन हुन्छ । नेपालमा माघ १ गते राष्ट्रिय योग दिवस मनाइन्छ । -रासस

प्रतिकृया