• २६ भदौ २०८३, शुक्रबार
  • ११ः३९ राती

मन्त्रालयको सिफारिसमा मात्र अक्सिजन ग्यास बिक्री वितरण

प्रकाशित मिति

२०७८ बैशाख २६ गते, आईतवार १०:११

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रालयको सिफारिसविना अक्सिजन ग्यासको सिलिण्डर बिक्री वितरण नगर्न अनुरोध गरेको छ ।  मन्त्रालयले कोभिड-१९ का सङ्क्रमितको उपचारमा अक्सिजन सिलिण्डरको अभाव हुन नदिनका लागि ग्यास उत्पादकलाई पत्र लेख्दै मन्त्रालयको सिफारिसविना कुनै पनि सरकारी वा निजी अस्पताललाई अक्सिजन ग्यास सिलिण्डर बिक्री वितरण नगर्न अनुरोध गरेको हो ।

National Life

मन्त्रालयको विपद् व्यवस्थापन एकाइ तथा स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका महाशाखा प्रमुख डा गुणराज लोहनीले सूचना जारी गर्दै कोभिड–१९ को दोस्रो लहरका कारणले धेरै सङ्क्रमितलाई अक्सिजन आवश्यक पर्ने भएकाले ग्यास उत्पादकलाई मन्त्रालयको सिफारिसविना अस्पताललाई ग्यासको सिलिण्डर बिक्री वितरण नगर्न अनुरोध गरेका हुन् ।

“कोभिड-१९ महामारीको दोस्रो लहरमा धेरै सङ्क्रमितलाई अक्सिजनको आवश्यकता परिरहेको सन्र्दभमा अक्सिजन बिक्री वितरणलाई थप व्यवस्थित गर्न आवश्यक भएकाले नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सिफारिसविना कुनै पनि सरकारी, सामुदायिक तथा निजी अस्पताललाई ग्यास सिलिण्डर भरी बिक्री वितरण नगर्न हुन अनुरोध गरिन्छ”, जारी सूचनामा भनिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

मन्त्रालयले कान्तिपुर अक्सिजन प्रालि, सगरमाथा अक्सिजन प्रालि, अक्सिटेक अक्सिजन प्रालि, नवज्योति अक्सिजन प्रालि, हाम्रो अक्सिजन प्रालि, सोपान फर्मास्युटिकल्स प्रालि, हिमाल अक्सिजन प्रालि, सीता अक्सिजन प्रालि, शंकर अक्सिजन प्रालिलगायत सबै अक्सिजन ग्यास आपूर्तिकर्तालाई पत्र लेख्दै मन्त्रालयको सिफारिसमा मात्र अक्सिजन बिक्री गर्न अनुरोध गरेको छ । सूचनामा मन्त्रालयको सिफारिसविना बिक्री वितरण गरिएको पाइएमा कारवाही गर्नेसमेत जनाइएको छ ।

सरकारले अक्सिजनको अभाव हुन नदिनका लागि चीन सरकारबाट २० हजार खाली अक्सिजन सिलिण्डर ल्याउन थालेको छ । पहिलो चरणमा ४०० खाली अक्सिजन सिलिण्डर ल्याउन यही वैशाख २७ गते नेपाल वायुसेवा निगमको वाइडबडी जहाज चीन जाँदैछ । नेपालमा अहिले अक्सिजन सिलिण्डरको सङ्ख्या छ हजार २८८ रहेको छ । दैनिक एक हजार ४११।५ लिटर खपत भइरहेको जनाइएको छ ।रासस

प्रतिकृया