पदमुक्त गर्न माओवादीको सिफारिस
प्रकाशित मिति
२०७७ चैत्र ३० गते, सोमबार ११:०४
जनकपुरधाम नेकपा माओवादी केन्द्रले प्रदेश २ का ४ जना सांसदलाई पदमुक्त गर्न सिफारिस गरेको छ ।
माओवादी केन्द्रका प्रदेशसभा सदस्यहरु ओली नेतृत्वको नेकपा एमालेमा लागेपछि माओवादी केन्द्रले चारैजना प्रदेशसभा सदस्यहरुलाई कारबाही स्वरुप पदमुक्त गर्न सभामुख सरोज यादव समक्ष सिफारिस गरेको हो।माओवादी केन्द्रको प्रदेशसभामा प्रतिनिधित्व गर्ने ११ जना प्रदेशसभा सदस्यहरुमध्ये चार जना कारबाहीमा परेका छन् ।
माओवादी केन्द्रले प्रदेशसभा सदस्यहरु रामचन्द्र मण्डल, कुन्दनप्रसाद कुश्वाहा, ज्वाला साह र मोहम्मद समिरलाई कारबाही स्वरुप पदमुक्त गर्न सिफारिस गरेको माओवादी केन्द्र प्रदेश २ का संसदीय दलका नेता भरत साहले जानकारी दिएका छन् । उनका अनुसार चारै जना प्रदेशसभा सदस्यहरुलाई पदमुक्त गरिएको पत्र सभामुख सरोजकुमार यादवलाई बुझाइएको छ ।
नेकपा एमालेमा लागेपछि चारै जना सांसदलाई पार्टीको केन्द्रीय समितिले स्पष्टीकरण सोधेको थियो । उनीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरणका लागि समय दिदाँ पनि नदिएपछि पदमुक्त गर्न सिफारिस गरिएको संसदीय दलका नेता साहले बताएका छन् ।
यता माओवादी केन्द्रको कारबाहीमा परेकी प्रदेशसभा सदस्य ज्वाला साहले आफू विचारको राजनीति तथा पार्टी निर्माण प्रकृयामा लागेकाले यो कारबाहीले केही फरक नपर्ने बताइन्।







प्रतिकृया