म्यानमारका नागरिकको जीवन रक्षाको माग गर्दै मैनवत्तीसहित प्रदर्शन
प्रकाशित मिति
२०७७ चैत्र २६ गते, बिहीबार ०८:४७
काठमाडौं: म्यानमारका नागरिकहरुको जीवन रक्षाको मागसहित मानव अधिकार तथा शान्ति समाजले काठमाडौंमा मैनबत्ती बालेर प्रदर्शन गरेको छ । बुधबार साँझ काठमाडौंको बौद्धनाथ स्तुपा अगाडि समाजले प्रदर्शन गरेको हो ।
मानव अधिकार तथा शान्ति समाजकी अधिकृत सरिता पौडेलका अनुसार साँझ साढे ६ बजेदेखि ७ बजेसम्म प्रदर्शन गरिएको हो । प्रदर्शनमा सहभागीहरुले आँखा र निधारमा कालोपट्टी बाँधी मैनबत्ती बोकेका थिए ।
प्रदर्शनमा सहभागीहरुले ‘बर्मा नागरिकको जीवन रक्षा गर’ शान्ति ‘बहाली गर, ‘लोकतन्त्र बहाली गर’, ‘मानवता विरुद्धको अपराध अन्त्य गर’, ‘मानव अधिकार उल्लंघन बन्द गर, ‘सैनिक शासन खारेज गर’ लेखिएका प्लेकार्ड बोकेका थिए ।
बुधबार साँझ नै शान्ति समाजले दाङको तुलसीपुर, पाल्पाको तानसेन र चितवनको भरतपुरमा पनि बर्माका नागरिकको जीवन रक्षाको मागसहित प्रदर्शन गरेका छन् ।
शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गोविन्द खनाल, सल्लाहकार उत्तम पुडासैनी, पूर्वसभापति होमकान्त चौलागाई, उपसभापति रत्नलक्ष्मी श्रेष्ठ, महासचिव रामकृष्ण बराल, कोषाध्यक्ष जगन्नाथ पुडासैनी लगायत सहभागी थिए । प्रदर्शनमा गोकर्णेश्वर नगरपालिकाको उपमेयर शान्ति नेपाल र वडा अध्यक्ष रमेश अर्याल पनि सहभागी थिए ।






प्रतिकृया