• २९ भदौ २०८३, सोमबार
  • ६ः२८ बिहान

ठमेलमा चिनियाँ दम्पतीलाई बन्धक बनाएर २० लाख लुटपाट, लुटेको पैसा माटोबाट निकालियो

प्रकाशित मिति

२०७७ चैत्र २२ गते, आईतवार ०१:२०

काठमाडौं : काठमाडौंको ठमेलमा चिनियाँ दम्पतीलाई बन्धक बनाएर चार जना युवाले लुटपाट गरेका छन् । चैत १६ मा राति युन छियोमेन दम्पतीलाई डेरामा बन्धक बनाएर लुटपाट गरेका हुन् । लुटमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका घर भएका चार जना युवा संलग्न रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

National Life

मुकुण्डो लगाएका लुटेराले हात गोडा र मुख टेपले बाँधेर २० लाख लुटेको चिनियाँ दम्पतीले दाबी गरेका छन् । लुटमा संलग्न ४ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए ।

‘पैसा सुनसहित करिब २० लाख लुटिएको पीडितको दाबी छ,’ एसएसपी सिंहले भने, ‘हामीले अनुसन्धान गरिरहेका छौं ।’
लुटमा संलग्न रहेको आरोपमा पक्राउ पर्नेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका–४ घर भएका फुलकाजी तामाङ, अमिर तामाङ, बुद्ध तामाङ र सन्तलाल लामा उर्फ रोशन रहेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

लुटमा आफन्त, माटोमा पैसा
चिनियाँ युन छियोमेनले सिन्धुपाल्चोककी अञ्जली तामाङसँग विवाह गरेका हुन् । ठमेलस्थित डेरामा चैत १६ मा उनका भाइहरु प्रवेश तामाङ र पासाङ तामाङ पनि सँगै थिए । लुटेराले उनीहरु सवैलाई बन्धक बनाएको पीडितहरुले प्रहरीलाई बताएका छन् ।

लुटमा संलग्न मध्येका कागेश्वरी मनोहरा नगरपालिका–६ शिवचोक बस्ने फुलकाजी अञ्जलीको ठुलोबुवाको छोरा हुन् । चिनियाँ दम्पतीको कोठामा आउजाउ गरिरहने फुलकाजीले बैनी–ज्वाईंसँग पैसा भएको थाहा पाएर लुटको योजना बनाएको बताउँछन्, काठमाडौंका एसएसपी अशोक सिंह ।

लुटेको मध्ये ७ लाख ९२ हजार महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले बरामद गरेको छ । लुटमा संलग्न आरोपी सन्तलाल लामा उर्फ रोशनले माटोमा पैसा गाडेको फेला परेको छ । गोकर्णेश्वर नगरपालिका–३ गाम्जामा बस्ने रोशसले डेराभित्र माटोमा गाडेको अवस्थामा ३ लाख नगद प्रहरीले बरामद गरेको छ ।

‘माटोबाट ३ लाख निकालेका छौँ,’ अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले रातोपाटीसँग भने, ‘साथी पक्राउ परेको थाहा पाएपछि ३ लाख प्लाष्टिकमा बेरेर माटोमा लुकाएको रोशनको भनाइ छ ।’ शनिबार साँझ भाग्दै गरेको अवस्थामा परिसर काठमाडौंबाट खटिएको टोलीले उनलाई गोकर्णेश्वरबाट पक्राउ गरेको थियो ।

लुटेको रकम ३ दाख २५ हजार फुलकाजीले घरमा पठाएको बयान दिएका छन् । त्यस्तै २८ वर्षीय बुद्धले २ लाख ५० हजार सिन्धुपाल्चोकस्थित घरमा पठाएको प्रहरीलाई बताएका छन् ।

प्रतिकृया