• २९ भदौ २०८३, सोमबार
  • ९ः११ बिहान

बौद्धमा भेटिएको युरेनियमका ग्राहक को थिए ?

प्रकाशित मिति

२०७७ फाल्गुन २८ गते, शुक्रबार ०७:१०

काठमाडौ: काठमाडौँको बौद्धस्थित एक घरमा आणविक हतियार बनाउन प्रयोग हुने रसायन युरेनियम ठूलो परिमाणमा रहेको सूचना प्रहरीले गत महिना पाएको थियो। निकै महँगो मानिने यो रसायन कसरी र के प्रयोगका लागि नेपाल भित्रियो भन्नेबारे प्रहरी नै अचम्मित थियो।

National Life

अन्तर्राष्ट्रिय बजारमा १० ग्राम प्रशोधित युरेनियमलाई १८ करोड नेपाली रुपैयाँ पर्छ। करिब अढाइ केजी युरेनियम बौद्धस्थित एक घरमा रहेको सूचना प्रहरीलाई थियो। युरेनियमबाट आणविक हतियार बन्छन् जसले ठूलो क्षेत्रलाई तहस नहस पार्न सक्ने क्षमता राख्छन्। अर्कोतर्फ आणविक भट्टीबाट बिजुली निकाल्न सकिन्छ। त्यस्ता आणविक भट्टीहरुमा युरेनियमलाई इन्धनका रुपमा प्रयोग गरिने नेपालको विज्ञान तथा प्रविधि प्रतिष्ठान नास्टका प्रवक्ता सुरेश कुमार ढुंगेल बताउँछन्।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले शुक्रबार अढाइ केजी युरेनियम भेटिएको भन्दै पक्राउ परेका चार जनासहित सार्वजनिक गरेको छ। प्रहरीले यसबारे धेरै खुलाएको छैन। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख हरि पालका अनुसार करिब २०/२२ वर्षअघि भारतमा एक खानीमा काम गर्दा एक व्यक्तिले उक्त युरेनियम नेपालमा ल्याएको र घरमा राखिरहेको बताएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

‘ती व्यक्ति अहिले अमेरिकामा छन् र प्यारालाइसिसका कारण बोल्न सक्ने अवस्थामा पनि छैनन्। बौद्धमा बस्ने उनकी बुहारी र अन्य तीन जनालाई हामीले पक्राउ गरेका छौँ’, एआईजी पालले भने।

नास्टका प्रवक्ता ढुंगेल नेपालमा आणविक हतियार र बिजुली उत्पादनका लागि आणविक भट्टी दुवैको सम्भावना नरहेकाले यदी त्यो युरेनियम नै भए नेपाल ‘रुट’का रुपमा प्रयोग भएको हुन सक्ने बताउँछन्। ‘नेपालमा यस्तो पदार्थ भेटिनु निकै डरलाग्दो कुरा हो। उच्च रेडियोधर्मी युक्त भएकाले यसलाई ओसार पसार गर्दासमेत निकै होसियारी पुर्‍याउनुपर्ने हुन्छ। यसबाट निस्किएको किरणले क्यान्सर लगाउने जोखिम उच्च हुन्छ’, प्रवक्ता ढुंगेलले भने।

ढुंगेलका अनुसार प्रहरीले सार्वजनिक गरेको युरेनियमको नमूनालाई नास्टमा परीक्षण गर्दा उच्च रेडियोधर्मी युक्त देखिएको तर युरेनियम नै हो भनेर निश्चित भएकोबारे आफूले जानकारी नपाएको बताए। ‘उच्च रेडियोधर्मीयुक्त पदार्थ भेटिनु नेपालका लागि ठुलो चिन्ताको विषय हो’, ढुंगेल भन्छन्।

केही वर्षअघि नेपालमा पनि युरेनियमका खानीहरु हुन सक्ने सम्भावना रहेको सार्वजनिक भएको थियो। प्रहरीले बरामद भएको युरेनियम कच्चा पदार्थको अवस्थामा रहेको बताएको छ। ‘यो कहाँबाट ल्याइयो भन्नेबारे गम्भीर अनुसन्धान हुनुपर्छ’, ढुंगेल भन्छन्।

पक्राउ पर्नेमा रामेछामको लिखु तामाकोशी गाउँपालिकाका ४० वर्षीय नारायणसिंह तामाङ, सोही स्थानकी ४० वर्षीया जानुका तामाङ, रामेछापको बाघजोर नगरपालिका २० वर्षीय प्रकाश चौहान र सिन्धुलीको सुनकोशी गाउँपालिकाको २० वर्षीय मनोज न्यौपाने छन्। जानुका, भारतबाट युरेनियम ल्याउने व्यक्तिकी बुहारी भएको प्रहरीको भनाई छ। युरेनियम कसलाई बिक्री गर्न खोजिदै थियो भन्नेबारे प्रहरीले केही बताएको छैन।

प्रतिकृया