• २८ भदौ २०८३, आइतबार
  • ५ः०० बेलुका

आठ वर्षमा पनि बनेन वाग्मती पुल

प्रकाशित मिति

२०७७ फाल्गुन २८ गते, शुक्रबार १२:५४

सर्लाही : सर्लाही र रौतहट जोड्ने वाग्मती नदीको पुलको निर्माण कार्य करीब आठ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । निर्माण शुरु भएको आठ वर्ष बितिसक्दा पनि ठेकेदारको लापर्बाहीका कारण पुल निर्माण कार्य सम्पन्न नभएको हो ।

National Life

समयमा पुल नबनेका कारण स्थानीयलाई आवतजावतमा समस्या भएको हजरियाका गोविन्द पोख्रेलको गुनासो छ । सर्लाहीको हजरिया र रौतहटको समनपुर जोड्ने वाग्मती नदीमा निर्माण कार्य शुरु भएको करिब आठ वर्ष बितिसक्दा पनि पुलको निर्माण कार्य सम्पन्न नहुदा स्थानीयले सास्ती खेप्नुपरेको अर्का स्थानीय रवीन्द्र महतोले गुनासो गरेका छन् ।

पूर्व–पश्चिम लोकमार्गबाहेक ४२ किलोमिटर दक्षिण नेपाली सीमासम्म वाग्मती नदीमा पुल नहुँदा स्थानीय सास्ती खेप्न बाध्य छन् । विसं २०६९ असार २६ गते रु ३२ करोड ७६ लाख ११ हजारमा एलाइट कन्स्ट्रक्सन काठमाडौँ जेभीले ६०० मिटर लम्बाइ भएको डबल लेनको पुल बनाउन सम्झौता गरेको थियो ।
सो पुलको तत्कालीन भौतिक योजना तथा पूर्वाधारमन्त्री विमलेन्द्र निधिले शिलान्यास गरेका थिए। एलाइट कन्स्ट्रक्सनले नेपाल सरकारको पुल डिभिजन महाशाखाबाट सम्झौता भएको करीब ३६ महिनामा पुलको निर्माण कार्य पूरा गर्ने लिखित सम्झौता गरेको थियो तर सम्झौता भएको करीब आठ वर्ष बितिसक्दा पनि पुल निर्माण काम पूरा नहुँदा त्यस भेगका स्थानीयले समस्या झेल्नुपरेको रौतहटको गढीमाई नगरपालिकाका रामपुकार यादवले बताएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

निर्माण कम्पनीले कहिले मधेश आन्दोलन, कहिले बाढी त कहिले कोरोना भाइरसलगायतका विभिन्न बहाना बनाई निर्माण कार्य निर्धारित समयभन्दा करीब पाँच वर्ष ढिलाइ गरेको थियो । अझै निर्माण पूरा गर्न दुई वर्ष लाग्ने ठेकेदार कम्पनीले बताएको समनपुरका बासिन्दा जब्बार मियाँले बताएका छन् । चारपटक म्याद थप भइसकेको हुँदा अन्तिमपटक विसं २०७८ असार मसान्तसम्म मात्रै म्याद रहेको बताउँदै कछुवा गतिमा भइरहेको निर्माणको अवस्था हेर्दा अझै पुल करीब दुई वर्षमा पनि पुल निर्माण हुने अवस्था नदेखिएको मियाँले बताएका छन् ।

प्रतिकृया