ओलीले तानशाही शासन तन्काउन निर्वाचनको घोषणा गरे: सिंह
प्रकाशित मिति
२०७७ फाल्गुन ३ गते, सोमबार ०४:३७
काठमाडौं: नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तानशाही शासन तन्काउन निर्वाचनको घोषणा गरेको बताएका छन् । कांग्रेस प्रतिनिधि सभा विघटनविरुद्ध गरेको देशव्यापी प्रर्दशनको क्रममा कास्कीमा आयोजित विरोध सभामा बोल्दै नेता सिंहले ओलीले नहुने निर्वाचनको मिति घोषणा गरेको बताए ।
‘उनले तानशाही शासन तन्काउन हुनै नसक्ने चुनाव घोषणा गरे। शासन लम्बाउन कसैलाई प्रलोभनमा फसाउन सकिन्छ कि भनेर उनले चुनावको चाल चलेका हुन्,’ सिंहले भने।
उनले अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने विश्वास व्यक्त गरे । ‘प्रतिनिधि सभा विघटनको मुद्दा अहिले सर्वोच्च अदालतमा छ। अब न्यायमुर्तीहरूले न्याय दिँदा संविधानको व्यवस्था र भावनालाई हेरेर दिनुहुन्छ भन्ने विश्वास छ,’ उनले भने, ‘हिजो राजा ज्ञानेन्द्रले शाही आयोग गठन गरे । त्यो बेला अदालतले त्यसलाई असंवैधानिक ठहर गर्यो । अहिले पनि असंवैधानिक ठहर गर्ने विश्वास छ।’
उनले संसदीय व्यवस्थाको सुन्दर पक्ष चेक एन्ड व्यालेन्स भएकाले कार्यपालिकाले व्यवस्थापिका माथि प्रहार गर्दा न्यायपालिकाले सच्चाउनुपर्ने बताए । उनले कसैले संविधान मिचेका ओलीले चुनाव गराउँछन् भनेर पत्याउछ भने त्यसलाई रामराम मात्र भन्न सकिने बताए।







प्रतिकृया