मल ल्याउन सरकारी टोली बङ्गलादेश जाँदै
प्रकाशित मिति
२०७७ मंसिर २९ गते, सोमबार ०६:५५
काठमाडौँ, बङ्गलादेशबाट ५० हजार मेट्रिक टन रासायनिक मल खरीद गर्न नेपाली सरकारी टोली बङ्गलादेश जाने भएको छ । नेपाल र बंगलादेशका सरकार–सरकारबीच ९जिटुजी० मार्फत मल खरीदका लागि समझदारी गर्न नेपाली टोली मङ्गलबार जाने भएको हो ।
सरकारी टोलीको नेतृत्व गर्दै कृषि सामग्री कम्पनीका प्रबन्ध निर्देशक नेत्रबहादुर भण्डारीका संयोजकत्वमा चार सदस्यीय टोली बङ्गलादेश जाने तयारी भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा योगेन्द्रकुमार कार्कीले जानकारी दिए । उनका अनुसार उक्त टोलीमा मन्त्रालयका सहसचिव कञ्चनराज पाण्डे, कम्पनीका खरीद महाशाखा प्रमुख विष्णुप्रसाद पोखरेल र मन्त्रालयका कृषि प्रसार अधिकृत अरुण जिसी रहने छन् ।
टोलीले बङ्गलादेश सरकारलाई मल खरीदको प्रस्ताव बुधबार पेश गरेर सम्झौता गर्ने मन्त्रालयले जनाएको छ । यसअघि अन्तरराष्ट्रिय बोलपत्र आह्वान गरेर रासायनिक मल खरीद गरिएको भन्दा सस्तोमा मल नेपाल आउने अनुमान गरिएको कृषि सामग्री कम्पनीका प्रबन्ध निर्देशक भण्डारीले जानकारी दिए । खरीदको अन्तिम मूल्य बङ्गलादेशमा गएर सम्झौता गरेपछि मात्र थाहा हुने तर प्रतिमेट्रिक टन १४ डलरसम्म सस्तो पर्ने अनुमान गरिएको उनको भनाइ छ । विवादरहित रुपमा सरकारी मूल्यमा रासायनिक मल खरीद गरेर ल्याइने उनले जानकारी दिए ।
रासस







प्रतिकृया