किसानलाई दशैं सकिए लगत्तै बाली भित्र्याउने चटारो
प्रकाशित मिति
२०७७ कार्तिक १३ गते, बिहीबार ०१:३३
काठमाण्डौ, किसानहरु यतिखेर जेठ–असारमा लगाएको बाली भित्रयाउने चटारोमा छन् । कोही खेतमा धान काटिरहेका देखिन्छन्, कतिले धान भित्राएर गहुँ छरिसकेका छन् ।
वर्षाले साथ दिएपछि यो वर्ष चाँडै रोपाइँ भएको थियो । अधिकांश किसानले तीनबाली हुने खेतको धान त दशैँ अगावै भित्राइसकेका थिए । ती खेतमा छिटो पाक्ने धान लगाइन्छ । दुई बालीको खेतमा भने अलि ढिलो गरी धान पाक्छ ।
यसपालि चाडबाड पछि सरेकाले कामको मेसो पनि सँगसँगै पर्न गएको किसानहरु बताउँछन् ।
कृषि विभागका अनुसार कालो पोके रोगले धानबालीमा केही असर पुर्याए पनि मौसम अनुकूल परेकाले उत्पादनमा ठूलो ह्रास आएको छेैन् । उन्नत र वर्णसङ्कर जातको धान खेती विस्तार हुँदै गएको छ । बढी फल्ने भएपछि किसान स्थानीय रैथाने जात छाडेर वर्णसङ्करतिर आकर्षित हुन थालेका छन् । किसानले खेती प्रणालीलाई विस्तारै परिवर्तन गर्दै लगेका छन् ।खेतबारी जोत्न ‘मिनिटिलर’ हलो प्रयोग गर्ने बढेका छन् । खेतको धान, पराल बोक्न पनि ट्याक्टरको प्रयोग हुन थालेको छ । किसानले गोरु पाल्न छाडेको प्रमुख सुवेदीले बताए । रोपाइँदेखि, गहुँ, मकै, कोदो लगायतका बाली लगाउँदा पनि ‘मिनिटिलर’ हलोकै प्रयोग हुन थालेको छ ।
आधुनिक प्रविधिले पम्परागत खेती प्रणालीमा ठूलो परिवर्तन ल्याएको छ । खेती लगाउँदा लागत कम लाग्ने, झण्झट नहुने, श्रम र समयको पनि बचत हुने भएकाले किसान उन्नत प्रविधितर्फ आकर्षित भएका हुन् । गाउँघरमा खेताला, कामदार पनि पाइन छाडेका बेला आधुनिक औजार, उपकरणले किसानलाई राहत मिलेको छ । ‘मिनिटिलर’ हलोको माग बढेपछि केही किसानले आफ्नै लगानीमा हलो किनेर कृषिको यान्त्रीकरणमा टेवा पुर्याइरहेका छन् । फोटो- नबराज कुवँर






प्रतिकृया