• २८ भदौ २०८३, आइतबार
  • १ः०७ दिउँसो

सरकारले कसरी उठाउँदैछ २ खर्ब २५ अर्ब आन्तरिक ऋण ?

प्रकाशित मिति

२०७७ आश्विन २६ गते, सोमबार ०४:००

काठमाडौं, चालु आर्थिक वर्ष २०७७/७८ का लागि सरकारले ल्याएको १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ बजेटको स्रोतमध्ये आन्तरिक ऋणबाट २ खर्ब २५ अर्ब रुपैयाँ उठाउने लक्ष्य छ । आन्तरिक ऋणमध्ये हालसम्म ३० अर्ब रुपैयाँ उठाइसकेको छ भने ३ अर्ब रुपैयाँ मंगलबार उठाउँदैछ । नेपाल राष्ट्र बैंङ्कले ३० अर्ब रुपैयाँ विकास ऋण पत्रमार्फत र ३ अर्ब रुपैयाँ ट्रेजरी विलमार्फत ऋण उठाएको छ ।

National Life

आन्तरिक ऋण उठाउन केन्द्रीय बैंकले कार्यतालिका नै बनाएर काम गरिरहेको छ । हरेक चौमासिकमा आन्तरिक ऋण उठाउने कार्यतालिका बनाइएको र सोही अनुसार काम भइरहेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट बताउँछन् । उनका अनुसार पहिलो चौमासिकमा ५७ अर्ब उठाउने तयारी छ । मंगलबारसम्म ३३ अर्ब रुपैयाँ उठिसक्ने छ । पहिलो चौमासिकमा उठ्नु पर्ने बाँकी २४ अर्ब एक महिनाभित्र उठाइनसक्ने प्रवक्ता भट्टले बताए । दोस्रो चौमासिकमा ५६ अर्ब र तेस्रो चौमासमा १ खर्ब १२ अर्ब गरी कुल २ खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइसक्ने राष्ट्र बैंकको तालिका छ ।

यस वर्ष आन्तरिक ऋणमध्ये ३१.१ प्रतिशत ट्रेजरी बिलबाट, ६६.७ प्रतिशत विकास ऋणपत्रबाट, १.८ प्रतिशत नागरिक बचत पत्रमार्फत र ०.४ प्रतिशत वैदेशिक रोजगार बचत पत्रमार्फत आन्तरिक ऋण उठाउने प्रवक्ता भट्टले बताए । सरकारले गत आव २०७६/०७७ मा १ खर‍्ब ९३ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको थियो । कुल आन्तरिक ऋणमध्ये ४६.१५ प्रतिशत ट्रेजरी बिलबाट, ५१.२८ प्रतिशत विकास ऋणपत्रबाट, २.०५ प्रतिशत नागरिक बचत पत्रमार्फत र बाँकी ०.५१ प्रतिशत वैदेशिक रोजगार बचत पत्रमार्फत उठाइएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

आन्तरिक ऋणको अवस्था

राष्ट्र बैंकका अनुसार गत असार मसान्तसम्म विभिन्न स्रोतबाट सरकारले ६ अर्ब १३ अर्ब २१ करोड २० लाख रुपैयाँ आन्तरिक ऋण उठाएको छ । यसमा विकास ऋणपत्रको सबभन्दा ठूलो हिस्सा छ । हालसम्म ३ खर्ब ८९ अर्ब ९४ करोड ७० लाख रुपैयाँ विकास ऋण पत्र रहेको छ । ट्रेजरी विलमार्फत उठाएको २ खर्ब १५ अर्ब २१ करोड ८१ लाख रुपैयाँ पनि सरकारको आन्तरिक ऋण रहेको छ ।

यसैगरी नागरिक बचत ऋणपत्र ७ अर्ब ७४ करोड २० लाख रुपैयाँ र वैदेशिक रोजगार बचत पत्र ४० करोड ५० लाख रुपैयाँ रहेको केन्द्रीय बैंकले जनाएको छ । यो आन्तरिक ऋण तिर्न पनि तालिका नै बनाइएको प्रवक्ता भट्ट बताउँछन् । हालसम्मको आन्तरिक ऋणमा विकास ऋणपत्रको हिस्सा सबभन्दा धेरै ६४ प्रतिशत छ भने ट्रेजरी विलको हिस्सा ३५ प्रतिशत छ । यसैगरी नागरिक बचतपत्रको १ प्रतिशत र वैदेशिक रोजगार बचत पत्रको एक प्रतिशत भन्दा कम रहेको राष्ट्र बैंकले बताएको छ ।

राष्ट्र बैंकले आन्तरिक ऋण भुक्तानीका लागि पनि कार्यतालिका बनाएको छ । बैंकले चालु आवमा २ खर्ब २६ अर्ब ४९ करोड २६ लाख रुपैयाँ भुक्तानी गर्दैछ । यो कुल आन्तरिक कर्जाको ३६.९४ प्रतिशत हो । आगामी आव ०७८/७९ मा राष्ट्र बैंकले ५ अर्ब २५ करोड ४१ लाख रुपैयाँ भुक्तानी गर्दैछ । यसैगरी आव ०७९/८० मा ६५ अर्ब ८७ करोड ५९ लाख रुपैयाँ, ०८०/८१ मा ४१ अर्ब, ०८१/८२ मा १ खर्ब २ अर्ब ७७ करोड ८१ लाख र आव ०८२/८३ मा २० अर्ब ९७ करोड रुपैयाँ आन्तरिक ऋण भुक्तानी हुनेछ ।

कार्यतालिका बनाउँदा ऋण उठाउन सहज

राष्ट्र बैंकको आर्थिक नीति तथा अनुसन्धान विभागका प्रमुख समेत रहेका प्रवक्ता भट्ट कार्यतालिका बनाएर ऋण उठाउँदा सहज हुने बताउँछन् । कार्यतालिका बनाउFदा पूर्व जानकारी हुने भएकाले बजारलाई ‘प्रेसर’ नहुने उनले बताए । एकैचोटी आन्तरिक ऋण उठाउदा बजारलाई नकारात्मक असर पर्ने उनी बताउँछन् । केही वर्ष अघिसम्म केन्द्रीय बैंकले वर्ष समाप्तिको केही अघि ठूलो मात्रामा आन्तरिक ऋण उठाउने गरेको थियो ।

आर्थिक वर्षको अन्त्यमा गएर एकै चोटी आन्तरिक ऋण उठाउदा बजारमा लगानी योग्य रकम भई बैंकिङ क्षेत्रमा नकारात्मक असर पर्ने गरेको थियो । कार्यतालिका बनाएपछि यस्ता असर नपर्ने भट्ट बताउँछन् । ‘आर्थिक वर्षको अन्तिम चौमास भनेको निजी क्षेत्रले पनि गतिविधि बढाउने अवधि हो, त्यो समयमा निजी क्षेत्रले ऋण लिएर नयाँ–नयाँ कामहरु गर्छन्’, उनले भने, ‘निजी क्षेत्रलाई ऋण चाहिएको बेला सरकारले पनि आन्तरिक ऋण उठाउँदा बजारलाई राम्रो गर्दैन ।’ अर्थतन्त्रलाई चलायमान बनाइराख्न बनाउन तालिका आवश्यक भएको उनले बताए ।

कोरोना महामारीका कारण यतिबेला भने आर्थिक गतिविधि हुन पाएको छैन । कर्जाको माग घट्दा बैंक तथा वित्तीय संस्थाहरुमा २ खर्ब हारहारी लगानी योग्य रकम थुप्रिएको छ । यसले ब्याजदर पनि कम भएको छ । यस्तो बेलामा आन्तरिक ऋण उठाउदा सरकारलाई ब्याजको भार कम पर्ने प्रवक्ता भट्टले बताए ।

प्रतिकृया