• १३:११ २०८० चैत्र १६ गते
  • 1:11 pm

विकट क्षेत्रमा सौर्यबत्ती जडान

प्रकाशित मिति

२०७७ आश्विन २१ गते, बुधबार ०९:३६

Solar Panels nh

मङ्गलबारे, केन्द्रीय प्रसारण नपुगेको इलामको सूर्योदय नगरपालिकाको गेवाटारमा सौर्यबत्ती जडान गरिएको छ । सूर्योदय नगरपालिका–१३ खानेभन्जाड टोलको पुच्छार बस्ती गेवाटारमा नगरपालिकाले स्थानीयको लगानीबिना नै सौर्यबत्ती जडान गरेको हो ।

सौर्यबत्ती जडान भएपछि सो गाउँ साँझमा झिलीमिली भएको भन्दै स्थानीयवासी खुशी भएका छन् । नगरप्रमुख रणबहादुर राईले विकट मानिएको सो क्षेत्रमा बत्ती जडान भएपछि आफूलाई समेत खुशी मिलेको बताउनुभयो । अन्धकार गाउँमा हाल उज्यालोको प्रवेश भएको छ । गाउँ नै झिलीमिलीमा परिणत भएपछि त्यहाँका बासिन्दा हर्षित भएका छन् । विद्युतीकरणका लागि निकै अप्ठ्यारो र टाढा भएकाले त्यस ठाउँमा केन्द्रीय प्रसारणको विद्युत् विस्तार हुनसकेको थिएन । विद्युत् विस्तार नभएकाले त्यहाँका ११ घरले टुकीको भरमा रात कटाउँदै आएका थिए ।

विद्यार्थीसमेत रातमा मट्टितेल लगाएको टुकीकै भरमा अध्ययन गर्न बाध्य थिए । अब भने धेरै सहज भएको भन्दै विद्यार्थीसमेत खुशी भएका छन् । बत्ती नहुँदा इन्टरनेटसमेत नभएका कारण सो क्षेत्रका बासिन्दाले समस्या भोग्दै आएका थिए । मोबाइल भए पनि चार्ज गर्न नपाएपछि चलाउन नपाएको सो क्षेत्रका बासिन्दाको भनाइ छ । अब भने मोबाइल चलाउन पाइने भन्दै सो क्षेत्रका युवायुवतीसमेत खुशी भएका छन्् । युवायुवती, बालबालिकादेखि वृद्धवृद्धाले समेत खुशी मनाएका छन् ।

यतिञ्जेलसम्म बत्ती बाल्न नपाएका स्थानीयवासीले आफ्नो लगानीबिना नै बत्ती बलेको भन्दै खुशी व्यक्त गरेका हुन् । नगरपालिकाले समेत सो क्षेत्रका बासिन्दाको दैनिकको दुखेसो र गुनासो बढेपछि सौर्यबत्ती जडान गरेको हो ।
रासस

प्रतिकृया