• १० असोज २०८३, शनिबार
  • १०ः०१ बिहान

कृषकलाई क्षतिपूर्ति उपलब्ध गराइने

प्रकाशित मिति

२०७७ आश्विन १४ गते, बुधबार ०८:४०

गण्डकी, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले बाढीपहिराका कारण कृषि एवम् पशुपालनमा भएको क्षतिको राहत उपलब्ध गराइने बताउनुभएको छ । गण्डकी प्रदेशसभाको आजको बैठकमा यस अघि शून्य तथा विशेष समयमा उठाइएका प्रश्नको जवाफ दिँदै उहाँले प्रदेशका विभिन्न जिल्लामा बाढी पहिराका कारण धेरै कृषकहरू समस्यामा परेको बताउनुभयो ।

National Life

कृषि ज्ञान केन्द्र सहित सम्बद्ध निकायबाट कृषि तथा पशुपालनमा पारेको क्षतिको अनुगमन भै विवरण सङ्कलन भएको बताउँदै उहाँले मापदण्ड एवम् कार्यविधिका साथै बजेटको परिधिभित्र रही क्षतिपूर्ति उपलब्ध गराइने उल्लेख गर्नुभयो । मन्त्रालयले कामको प्रभावकारिताका लागि मन्त्रालय अन्तर्गतका पदाधिकारीसँग कार्यसम्पादन सम्झौता गरिएको उहाँले जानकारी दिनुभयो ।

बैठकमा मुख्य मन्त्री पृथ्वीसुव्वा गुरुङले महालेखा परीक्षकको कार्यलयको वार्षिक प्रतिवेदन र मुख्य न्यायाधिवक्ताको कार्यालयको वार्षिक प्रतिवेदन सभा समक्ष प्रस्तुत गर्नुभयो । यसअघि विधायन समितिका दफावार छलफलका लागि पठाइएका गण्डकी प्रदेशमा खेलकूदको विकास गर्ने सम्बन्धमा बनेको विधेयक र गण्डकी प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक समितिको प्रतिवेदन सहित विधायन समितिका सदस्य कृष्णचन्द्र नेपालीले सभामा प्रस्तुत गर्नुभयो । बैठकको शून्य समयमा प्रदेशसभा सदस्यहरू आशा कोइराला, भागवतप्रसाद मल्ल र विष्णुप्रसाद लामिछाने एवम् विशेष समयमा इन्द्रलाल सापकोटा, डोबाटे विश्वकर्मा, खिमविक्रम शाही, कृष्ण थापा, राजीव पहारी, मणिभद्र कँडेल, दीपक कोइराला, विनोद केसी र हरिशरण आचार्यले समसामयिक विषयमा प्रदेशसभा एवम् सरकारको ध्यानाकर्षण गराउनुभयो ।
रासस

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया