• ७ असोज २०८३, बुधबार
  • ५ः३४ बिहान

एक महिनामा स्क्रब टाइफसका ४९ जना बिरामी फेला

प्रकाशित मिति

२०७७ भाद्र १९ गते, शुक्रबार ०७:५१

बैतडी, बैतडीमा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन् । गएको साउनयता बैतडीमा स्क्रब टाइफसका ४९ जना बिरामी फेला परेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले जानकारी दिनुभयो । दशरथचन्द नगरपालिकामा २५ महिला र ११ पुरुष गरी ३६ जनामा स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएको छ ।

National Life

यस्तै पाटन नगरपालिकामा तीन महिला र एक पुरुष गरी चार, दोगडाकेदार गाउँपालिकामा चार महिला र दुई पुरुष गरी छ, मेलौली नगरपालिकामा एक महिला, पञ्चेश्वर गाउँपालिकामा एक पुरुष तथा सिगास गाउँपालिकामा एक महिलामा स्क्रब टाइफस पुुष्टि भएको जोशीले जानकारी दिनुभयो ।

जिल्ला अस्पताल बैतडी र अन्य स्वास्थ्य संस्थाहरुमा उपचारका लागि पुगेका व्यक्तिहरुको आरडीटी चेकजाँच गर्दा स्क्रब टाइफस देखिएको जोशीले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा जिल्लाभरि ४० जनामा स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएको थियो । यो वर्ष भने एक महिनाकै अवधिमा ४९ जनामा स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएको उहाँले बताउनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

माइट नामक किर्नाको टोकाइबाट स्क्रब टाइफस हुने भएकाले सरसफाईमा विशेष ध्यान दिनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । झाडी, झ्याङ भएका ठाउँमा माइट बस्ने भएकाले सकभर त्यस्तो ठाउँमा नबस्न स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् ।

यस्तै जिल्लामा डेङ्गुका बिरामी पनि देखिन थालेका स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाको दशरथचन्द नगरपालिकाका दुई महिला र एक पुरुषमा डेङ्गु रोग देखा परेको जोशीले बताउनुभयो ।

डेङ्गु एडिज नामको पोथी लामखुट्टेको टोकाइबाट हुने भएकाले लामखुट्टेको टोकाइबाट बच्नुपर्नेमा उहाँले जोड दिनुभयो । स्क्रब टाइफस भएमा उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, शरीरमा राता डाबरहरु आउनेलगायतका लक्षण देखा पर्छन भने डेङ्गु भएमा पनि उच्च ज्वरो आउने भएकाले यस्ता लक्षण देखिएमा स्वास्थ्य संस्थामा जान स्वास्थ्यकर्मीहरुले सुझाएका छन् ।
रासस

प्रतिकृया