डिसेम्बरसम्म नै मलेसियामा गतिविधि नियन्त्रण
प्रकाशित मिति
२०७७ भाद्र १४ गते, आईतवार ०३:०५
काठमाडौं, मलेसियाले यसवर्षको अन्त्यसम्म सार्वजनिक गतिविधिमा नियन्त्रण यथावत राख्ने घोषणा गरेको छ । मलेसियाका प्रधानमन्त्री मुहयिद्धिन यासिनले शुक्रबार राति राष्ट्रका नाममा सम्बोधन गर्दै उक्त घोषणा गरेका हुन् ।
मलेसियामा रिकभरी मोभमेन्ट कन्ट्रोल आदेश अन्तर्गत सार्वजनिक गतिविधिहरुमा प्रतिवन्ध लगाइएको छ । गत जुन १० तारेखमा जारी प्रतिवन्धको अवधि सोमबारसम्म रहेको थियो । त्यसअघि नै राष्ट्रका नाममा सम्बोधन गर्दै त्यहाँका प्रधानमन्त्री यासिनले प्रतिवन्ध यो वर्षको अन्त्यसम्म लम्ब्याउने घोषणा गरेका हुन् । विश्वमा मलेसिया कोरोना भाइरस (कोभिड–१९) संक्रमणलाई नियन्त्रणमा राख्न सफल मुलुकका रुपमा रहेको छ । त्यहाँ हालसम्म ९ हजार ३ सय १७ संक्रमित भएका छन् भने १ सय २५ जनाको ज्यान गएको छ । त्यहाँ ५ लाखको हाराहारीमा नेपाली कामदार रहेका छन् ।
प्रधानमन्त्री यासिनले मलेसियाले संक्रमणलाई नियन्त्रणमा राखेको भएपनि विश्वमा व्यापकरुपमा फैलिरहेकोले संक्रमण नियन्त्रण गर्नु परेको बताए । मलेसियाले अनुमति विना हिँडडुल गर्नेलाई त्यहाँको संक्रमण रोग नियन्त्रण ऐन अन्तर्गत कारवाही गर्ने बताएको छ ।
मलेसियाको स्वास्थ्य सेवा विभागका महानिर्देशकले गत बुधबार ऐन विपरित गतिविधि गरी हिँडलुल गर्नेलाई एक हजारदेखि दश हजार रिंगेट जरिवानाको प्रस्ताव गरेका थिए । प्रधानमन्त्री यासिनले ऐन संशोधन गरेर भएपनि जरीवाना बढाइने बताएका छन् ।
उनले निर्धारित मापदण्ड अनुसार कामकाज गरेकाहरुको जनजीवन प्रभावित नहुने भन्दै नाईट क्लब र अन्य मनोरञ्जनात्मक क्षेत्रमा स्वास्थ्य सुरक्षाका प्रवन्ध पालना गरेर सञ्चालन गर्न सक्ने उल्लेख गरेका छन् । मलेसियामा विद्यालय, आन्तरिक उडान बाहेक सबै क्षेत्र खुला भएपनि आप्रवासी कामदारको नायँ भर्ना भने यस वर्षको अन्त्यसम्म नै रोकिएको छ । तर विदेशी कामदार रोक्दा अर्थतन्त्र चल्न नसक्ने निजी क्षेत्रको दवाब यथावत रहेको छ । कोरोना भाइरस संक्रमण विश्वव्यापीरुपमा फैलनु अघि नेपालका करिब ६० प्रतिशत वैदेशिक रोजगार व्यवसायीले मलेसिया कामदार पठाउने गरेका थिए ।






प्रतिकृया